गायत्री परिवार नेपालको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्री यज्ञ आईतबारबाट शुरू भएको छ।
व्यास नगरपालिका वडा नम्बर ३ व्यास गुफा परिसरमा कार्तिक १बाट भइरहेको आठौ विश्व ॐकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत गायत्री परिवार नेपालले सहभागिता जनाउदै तीन दिने पञ्च कुन्डिय गायत्री यज्ञ आईतबार बाट शुरू गरेको हो।
मानवमा देवत्व र धर्तीमा स्वर्गको अवतरण भन्ने मूल ध्येयका साथ वेदमूर्ति तपोनिष्ठ युग ऋषि पण्डित श्रीराम शर्मा आचार्यले युग निर्माणका लागि घोषणा गर्नुभएको योजनालाई अनुसरण गर्दै तनहुँमा यज्ञ आयोजना गरिएको केन्द्रीय अध्यक्ष सावित्री काफ्लेले बताए ।
गायत्री परिवार नेपालको राष्ट्रिय सम्मेलन पछिको पहिलो कार्यक्रम व्यास गुफाबाट आरभ गरिएको भन्दै बुद्धिमा सद्बुद्धि जोड्ने काम गायत्री मन्त्रले गर्ने भएको हुँदा युग निर्माणका लागि विचारको क्रान्ति गर्नुपर्ने बताए । ऋषि पण्डित आचार्यको घोषणामा गायत्री यज्ञलाई प्रार्थमिकतामा राखी दुषकर्मलाई सत्कर्ममा बदलिदिँदा युग निर्माणहुने निश्चित रहेको भन्दै साधना , स्वास्थ्य, शिक्षा, स्वावलम्बन, नारी जागरण, पर्यावरण वातावरण सन्तुलन र कुरीति र दुर्व्यसन उन्मूलन लगायतका सातवटा अभियान अघि सारिएको पनि केन्द्रिय अध्यक्ष सावित्री काफ्लेले बताए।
गायत्री यज्ञमा केन्द्रिय सदस्य डाक्टर विजय प्रसाद प्रधान, लुम्बिनी प्रदेश प्रमुख सत्य नारायण पाठक, बाके जिल्ला अध्यक्ष मनिष कर्माचार्य, कम्दी गौशाला प्रमुख खिम रोका क्षेत्री, दाङ्गका श्रीराम दहित थारु लगायत सहभागी हुनुहुन्छ।आइतबारको गायत्री यज्ञमा प्रमुख जिल्ला अधिकरी छवि रिजाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्ट, राष्ट्रिय अनुसन्धान तनहुँका उप अनुसन्धान निर्देशक सुरेश तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा लगायत १५१जनाले हवन गरेका थिए ।