☰ open Loading... 17 October 2024|  

भूकम्प पीडितको गुनासो- अहिलेसम्म राहत पाइएको छैन
पश्चिम नेपाल   | २० कार्तिक २०८०, सोमबार ०९:५५

जाजरकोट । शुक्रवार राति अकल्पनीय रूपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो ।

आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो ।

उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भने, ‘मैले अहिलेसम्म राहत पाएको छैन ।’ घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए । उनले दुखेसो पोखे, ‘सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।’

त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताए । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरी सक्छौँ ।’

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्‍याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरे ।

‘मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।’ अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।