जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी गम्भीर घाइते भइ थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगन्जको भेरी असपतालमा उपचार भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समुन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको जनाएको छ ।
घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन् ।