जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो ।
जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्थाका साथै इच्छुक व्यक्तिहरूलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।