☰ open Loading... 16 July 2024|  

जाजरकोट भूकम्प: ‘राहतमै पक्षपात’
पश्चिम नेपाल   | २६ कार्तिक २०८०, आईतवार ०९:५७

भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न त्रिपाल पुगेको छैन।

‘भूकम्प गएपछि यही खुला चौरमा आएर बसेका छौं। हामीसँग त्रिपाल छैन। रात कटाउन मुस्किल भइरहेको छ,’ उनले नागरिकसँग भनिन्। आफूले जनप्रतिनिधि र नेतालाई नचिन्दा त्रिपाल पाउन नसकेको देवीले दुखेसो पोखिन्।

मजदुरीका लागि घरबाट निस्केका उनका पति पाँच वर्षदेखि सम्पर्कमा छैनन्। भूकम्पले विस्थापित जीवन बिताउँदा जेठी छोरी २४ वर्षीया उषा, माइली छोरी १५ वर्षीया दिलमाया, कान्छी छोरी १२ वर्षीया निशा र नातिनी तीन वर्षीया निक्की मल्लसँगै एक सातादेखि खुला आकाशमुनि बसिरहेकी हुन्। जनप्रतिनिधि र नेतासँग आफ्नो चिनजान नभएकाले राहत सामग्री पाउन कठिन भएको उनले सुनाइन्।

भूकम्पले भत्काउँदा उनको घरभित्र रहेका सबै सामान पुरिएका छन्। त्रिपाल नहुँदा रात कटाउन धेरै गाह्रो भएको सुनाउँदै उनले भनिन्, ‘कहिले अरूको त्रिपालमा कोचिएर सुत्छौं, कहिले खुला आकाशमुनि सुत्नुपर्छ।’

राहतका नाममा अहिलेसम्म चामल मात्र पाएको उनले सुनाइन्।

खुला आकाशको बसाइले बालबच्चालाई कसरी जोगाउने भन्ने चिन्ताले रिम्नाकी ४० वर्षीया मनीषा चलाउनेलाई पनि सताएको छ। गाउँका अधिकांशले त्रिपाल पाइसकेका छन्। तर आफ्नो परिवारले त्रिपाल नपाएर आकाशमुनि रात कटाइरहेको उनी बताउँछिन्। उनीसँगै छोरीहरू पवित्रा, भावना, सरस्वती, कृष्टि र रितुको रात अचेल आकाशमुनि बितिरहेको छ।

‘पाउने व्यक्तिले दुई/तीनवटा त्रिपाल पाइसकेका छन्, नपाउनेले हामीले जस्तै कत्ति पनि पाएका छैनन्,’ मनीषाले भनिन्, ‘राहत वितरणमा पक्षपात भएको छ।’

करिब ६ वर्षअघि भारतमा काम गर्न गएका उनका पति सम्पर्कविहीन छन्। उनको पक्षमा बोलिदिने कोही छैनन्। भूकम्पपछि एक महिला र एक पुरुष आएर नाम टिपेर लगेका थिए। गाउँमा आउने राहत सामग्री आफ्नो हातमा नै नपर्ने उनको गुनासो छ।

कात्तिक १७ गते शुक्रबार रातिको विनाशकारी भूकम्पले भेरी नगरपालिका–१ मा धेरै जनधनको क्षति भयो। नगरपालिकाभित्र सबैभन्दा बढी मानवीय क्षति १ नम्बरमा भएको बताइएको छ। सरकारी तथ्यांक अनुसार भूकम्पमा परेर उक्त वडामा मात्रै ३१ जनाले ज्यान गुमाएका थिए। तीमध्ये १६ पुरुष र १५ महिला छन्। मृत्यु हुनेमा १० जना बालबालिका छन्।

वडा कार्यालयका अनुसार भूकम्पमा परी घाइते भएका कतिपय गाउँ फर्किसकेका छन् भने अझै पनि भेरी अस्पताल नेपालगन्जमा ११ जना, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ६ जना, जाजरकोट जिल्ला अस्पताल र शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा १/१ जनाको उपचार भइरहेको छ।

भूकम्पले यहाँका अधिकांश पुराना घरमा क्षति पुर्‍याएको छ। भूकम्पबाट रिम्ना गाउँका मात्रै २४० घरपरिवार विस्थापित भएका छन्।

विस्थापित भूकम्प पीडितमाथि नै राजनीतिक रूपले पक्षपात हुने गरेको गुनासो बाहिरएको छ। घरमा पुरुषहरू नभएका, एकल महिला, लेखपढ गर्न नजान्नेजस्ता व्यक्तिहरू नै राहतमा ठगिएको स्थानीय बासिन्दा बताउँछन्।

जनप्रतिनिधि र नेताको पहुँचमा नहुँदा रिम्ना गाउँका अर्का भूकम्पपीडित नवीन घर्तीले पनि अहिलेसम्म त्रिपाल पाएका छैनन्। सहिद पार्कको खुला चौरमा आश्रय लिइरहेका उनी आफन्तले दिएको त्रिपालको ओत लगाएर बसेका छन्। ‘हामीलाई कसैले त्रिपाल नै दिएनन्, मामासँग मागेर ल्याएर गुजारा चलाएको छु,’ उनले भने, ‘राहत सामग्री कसैले बढी पाउने, कसैले पाउँदा पनि नपाउने अवस्था छ।’

वडाका जनप्रतिनिधिले आफन्तलाई मात्रै राहत सामग्री दिइरहेको घर्तीको दुखेसो छ। उनले अगाडि थपे, ‘राहत सामग्री बाँड्न त बाँडेका छन् तर आफन्तलाई मात्र बाँडे, नचिनेकालाई दिएनन्।’ सहिद पार्क परिसरमा बुवा, आमा र भाइसहित उनी आश्रय लिइरहेका छन्।

भेरी नगरपालिका–१२ स्थायी घर भई विगत तीन वर्षदेखि रिम्नामा बसेर व्यापार गरिरहेका स्थानीय सुनिलकुमार रानाले राहत वितरण पारदर्शी नहुँदा सबै पीडितका हातमा सामग्री नपुगेको बताए। ‘सरकारले दिएको राहत आइपुगेको छैन, हरेक संस्थाले दिएको राहत बेलुका भएपछि बाँडिन्छ, बाँड्नुपर्ने ठाउँमा बाँडिएको छैन,’ उनले भने, ‘राहत वितरण गर्ने दाताले पीडितलाई नै हस्तान्तरण गरेर जानुपर्छ, आफ्नालाई दिने र अर्कालाई नदिने भइरहेको छ, पार्टीगत रूपमा वितरण भइरहेको छ।’

राहत वितरण गर्दा कतिपय अवस्थामा विवाद नै हुने गरेको रानाले सुनाए। राहत वितरण हुँदा एउटै घरबाट तीन-चार जना आएर लैजाने र कतिपय पीडित नआउँदा उनीहरूको सामान अर्कैले लैजाने गरेका दृश्य देखिने गरेको उनले बताए।

उक्त वडामा माओवादी केन्द्रले जितेको छ। फरक पार्टीमा आस्था राखेकै कारण राहत वितरणमा पक्षपात भइरहेको पीडितको गुनासो छ। राहत वितरण कार्यलाई सहज बनाउन भन्दै वडा कार्यालयले एउटा समिति नै बनाएको छ।

उक्त समितिको नेतृत्व माओवादी केन्द्रका स्थानीय नेता कृष्णराज विश्वकर्माले गरेका छन्। विभिन्न जिल्लाबाट दाताले ल्याउने राहत सामग्री सोही समितिलाई हस्तान्तरण गरिरहेका छन्। समितिका संयोजक विश्वकर्मा भने राहत वितरण कार्यमा जटिलता आएको बताउँछन्। ‘हामीले एकद्वार प्रणालीअनुसार नै वितरण गरेका छौं। बाहिरबाट आएर बसेका मात्रै ५२ परिवार विस्थापित भएको छ। सबैलाई समान ढंगले वितरण गर्ने प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने।

राहत वितरणको काममा वडाका जनप्रतिनिधिहरू सक्रियतापूर्वक लागिरहेको बताउँछन्। तर पीडितहरूले भने वितरणमा कसैलाई ‘काखा’ र कसैलाई ‘पाखा’ गर्ने काम भइरहेको आरोप लगाइरहेका छन्।

भेरी नगरपालिका–१ का वडाअध्यक्ष दीपक राना सबै पीडितलाई पुग्ने गरी राहत सामग्री नआउँदा वितरणमा समस्या भएको तर्क गर्छन्। ‘जनताले अत्यन्त त्रासदीपूर्ण जीवन बिताइराख्नुभएको छ, बसाइचाहिँ सामूहिक छ, हाम्रो वडामा अझै ३६५ वटा त्रिपाल अपुग छ,’ उनले भने, ‘कतिपय साथीहरू खुला आकाशमुनि बस्नुपर्ने बाध्यता भएको छ, विपद्को बेलामा सबैले धैर्यधारण गरिदिन हामीले अपिल गरेका छौं।’

भूकम्पबाट आफ्नो वडामा रहेका कुल १ हजार ४० घरधुरीमध्ये कंक्रिटबाट निर्मित ३० वटा घरमा आंशिक र बाँकी १ हजार १० वटा घरमा पूर्ण रूपले क्षति भएको बताए।

क्षतिग्रस्त अवस्थामा रहेका घर बस्न लायक नभएपछि पीडितहरू घरबाहिर बस्नुपर्ने अवस्था रहेको सुनाए। भूकम्पले भत्केका घर तथा गोठमा अन्नपात, लत्ताकपडा तथा पशु चौपाया अहिले पनि पुरिएको अवस्था रहेको उनले सुनाए।

भेरी नगरपालिकामा मात्रै कुल ८ हजार ३५१ घरधुरी (आंशिक र पूर्ण) प्रभावित भएको तथ्यांक छ। नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले सोही तथ्यांकअनुसार राहत वितरणको कामलाई अगाडि बढाइएको बताए।

राहत वितरण गर्दा सुरुमा बढी क्षति भएको वडा नम्बर १ र ३ लाई प्राथमिकतामा राखिएको उनले सुनाए। ‘राहत वितरण गर्दा भेरी नगरपालिका–१ र ३ लाई बढी प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘सुरुमा मृतकका परिवार, त्यसपछि घाइतेका परिवार अनि मात्र अन्य पीडित परिवारलाई वितरण गर्ने योजनामा छौं।’

राहत वितरण गर्दा वडास्तरमा पक्षपात भइरहेको गुनासो आफू कहाँ पनि आइरहेको मेयर घर्तीले बताए। ‘वडा स्तरको राहत वितरणमा पक्षपात भएको गुनासो म कहाँ पनि आइपुगेको छ। सिधैं पार्टीगत रूपले वितरण भयो भनेर पीडितले गुनासो गरेका छन्,’ मेयर घर्तीले भने, ‘राहत वितरणमा हामी वडालाई नै बढी जिम्मेवार बनाउन खोजेका छौं। वडाध्यक्ष र वडा सदस्यबाट बेइमानी भयो भने राम्रो हुदैन।’

प्रभावित वडामा विभिन्न ८० प्रकारका राहत सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ। शुक्रबार बेलुकासम्मको तथ्यांकअनुसार ५ हजार ३३७ त्रिपाल, ३ हजार ७१५ ब्ल्यांकेट, चारवटा ठुला त्रिपाल, ७१ वटा पारिवारिक टेन्ट, ४९५ थान तन्ना, ५१५ थान सिरानी, ९२० थान फाइबर सिरकलगायत सामाग्री वितरण भइसकेको छ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीय र भौतिक संरचनामा बढी क्षति पुर्‍याएको थियो। जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरीशचन्द्र शर्माका अनुसार भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका छन्।

भूकम्पबाट जिल्लामा ३४ हजार ५०१ घरधुरी प्रभावित भएका छन्। जिल्लाका सातवटा स्थानीय तहमा ९ हजार ९७४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक रूपले क्षति भएको छ। विपद् व्यवस्थापन समितिले स्थानीय तहमार्फत वडास्तरमा राहत वितरण गरिरहेको सहायक प्रजिअ शर्माले सुनाए।

नागरिकन्यूजबाट