☰ open Loading... 17 November 2024|  

आध्यात्मिक सन्देश दिन देउसी-भैलो
पश्चिम नेपाल   | २६ कार्तिक २०८०, आईतवार १२:४४

आधुनिकीकरणका नाममा मौलिक संस्कृति धरापमा पर्दै गएको छ। मादल, मजुरा, खैंजडी, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी-भैलो खेल्ने परम्परा हिजोआज म्याग्दीमा बिरलै देखिन्छ।

युट्युब र मेमोरी कार्डबाट गीत बजाएर देउसी-भैलो खेल्न थालेपछि मौलिकपना हराउँदै गएको छ। विकृति र विसंगतिलाई निरुत्साहित गर्दै देउसी र भैलो सिर्जनात्मक शैलीको हुनुपर्छ भन्ने सन्देशसहित पहिलोपटक बेनीबजारमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनीले सन्देशमूलक देउसी-भैलो आयोजना गरेको छ।

आध्यात्मिक ज्ञानका माध्यमबाट व्यक्ति, परिवार, समाज हुँदै विश्वमा शान्ति कामनाको सन्देशसहितका गीतमा नृत्य प्रस्तुत गरिएको थियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनीमा निर्माणाधीन सभाहलको सहयोगार्थ आयोजित देउसी-भैलो अवलोकन गर्नेको भीड थियो।

तिहारको महत्वका बारेमा जानकारीसहित समुदायमा शान्ति, अमनचयन तथा सकारात्मक सोचका लागि ज्ञान वितरण गर्ने प्रयत्न गरिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बेनी शाखाकी प्रमुख रिना दिदीले बताइन्।

‘अर्थ संकलनभन्दा पनि सन्देश प्रवाहका लागि देउसीभैलो खेलेका छौं। हामीले मौलिकतामा आधारित भएर भैलो खेल्दा धेरैले चासो देखाउनुभयो’, केन्द्र प्रमुख रिनाले भनिन्।

देउसी-भैलोमा राजयोग शिक्षाले तनावमुक्त जीवनशैली अवलम्बन गर्न सहयोग पुर्‍याउने, व्यक्तिभित्र रहेको आध्यात्मिक जागृति र सशक्तीकरणद्वारा समाजमा शान्ति, सद्भाव, सहयोग र समृद्धिको पुनर्स्थापना गर्न सघाउने जस्ता सन्देश भएको गीत र नृत्य प्रस्तुत गरिएको राजयोगिनी रिना दिदीको भनाइ छ।

मौलिकताको जगेर्ना तथा कुलतमा फस्दै गएको युवा पुस्तामा आध्यात्मिक सन्देश पु¥याउनका लागि पनि देउसी-भैलो खेलिएको केन्द्रले जनाएको छ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले समाजमा व्याप्त विकृति र विसंगति न्यूनीकरणमा समेत राजयोग शिक्षा सहयोगी हुने बताए। उनले राजयोग केन्द्र भवनमा मानवीय र भावनात्मक सहयोगका साथै आर्थिक सहयोगको आवश्यकता रहेको बताए।

२०६० सालमा बेनीमा स्थापना भएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जिल्लाका विभिन्न स्थानमा पुगेर आध्यात्मिक ज्ञानसहित सकारात्मक सन्देश दिँदै आएको छ भने केन्द्रमा नियमित प्रवचनसहितका गतिविधि हुँदै आएको छ।