☰ open Loading... 27 November 2024|  

भूकम्पपीडितको आँगनमा आएन तिहार
पश्चिम नेपाल   | २९ कार्तिक २०८०, बुधबार १५:२५

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भुमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।
यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाईलो गरिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए । उनले भने, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।”