साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।
बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्वीर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले भनिन्, ‘तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।’
पौडेल र पुर्जामात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौं समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताए ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।
मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन् । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।
रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।
झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्वीर, भिडियो खिच्ने सुुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताइन् ।
१९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।
झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त रु ८० लाख अनुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गर्न लागिएको बताए ।