☰ open Loading... 16 September 2024|  

जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट
पश्चिम नेपाल   | २ मंसिर २०८०, शनिबार ०७:०६

तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ ।

छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट पूजा समितिले जानकारी दिएको छ । यो घाटलाई विशेष रूपमा सजाइन्छ । त्यस्तै विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका अन्य पोखरी तथा सरोवरलाई पनि सिँगारिने कार्य हुँदै छ ।

गंगासागर पोखरीपछि धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडाको प्रयोग गरी छाउनी बनाउने र त्यसमा झिलिमिली बत्ती जोड्ने काम पनि अन्तिम चरणमा पुगेको छ । यो वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले नम्बरिङ गरिदिएको छ । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने समितिले जनाएको छ ।

जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । आजदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रवार कात्तिक(आज) शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।

दोस्रो दिन (पञ्चमी) शनिवार खरना मनाइन्छ । छठ पर्वको मुख्य दिनका रूपमा लिइने षष्ठीमा व्रतालुहरूले निराहार उपवास बसी पोखरीको डिलमा ठकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउँदो सूर्यलाई अर्घ दान दिने चलन छ । सप्तमीका दिन भने सोही प्रसाद उदाउँदो सूर्यलाई अर्घ दान गरी छठ पर्व सम्पन्न गर्ने गरिन्छ ।