☰ open Loading... 20 September 2024|  

जाजरकोट भूकम्प : ३४ वटा सरकारी भवन पूर्ण क्षति
पश्चिम नेपाल   | ४ मंसिर २०८०, सोमबार १९:३१

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा कूल २६ हजार पाँच सय ५७ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ । भूकम्पले दुवै जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आशिंक क्षति पुर्‍याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुवै जिल्लाका स्थानीय तहसँग मागेको क्षति विवरण अनुसार ३४ वटा सरकारी भवन पूर्ण क्षति भएका छन् भने १६ वटामा आशिंक क्षति पुगेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईका अनुसार जाजरकोटको भेरी नगरपालिकामा धेरै घरमा क्षति पुगेको छ ।

त्यहाँ मात्रै दुई हजार पाँच सय ३० घर पूर्ण क्षति हुन पुगेको छ । भेरीपछि नलगाड नगरपालिकाका दुई हजार एक सय आठ घरमा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ । जागरकोटकै छेडागाडा नगरपालिकाका एक हजार नौ सय ४५, कुसे गाउँपालिकाका एक हजार पाँच सय चार, बारेकोट गाउँपालिकाका एक हजार ३५, जुनी चाँदी गाउँपालिकाका ६ सय ३४ र शिवालय गाउँपालिकाका ३८ घरमा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रुकुम पश्चिमको आठ विसकोट नगरपालिकामा धेरै घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यहाँ मात्रै ७ हजार एक सय ८ वटा आठ वटा घर पूर्ण क्षति भएको छ । त्यसैगरी सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६, मुसीकोट नगरपालिकाका दुई हजार तीन सय, चौरजहारी गाउँपालिकाका एक हजार ९ सय ८७, त्रिवेणी गाउँपालिकाका एक हजार ९ सय ३५ र बाँफिकोट गाउँपालिकाका १८ घरमा पूर्ण क्षति हुन पुगेको मन्त्रालयले जनाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा राहतबापत सरकार, विभिन्न गैरसरकारी संघसंस्था र दातामार्फत टेन्टदेखि चामलसम्म पुगेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४१ हजार दुई सय ५६ वटा पाल, २९ हजार ९ सय ३९ वटा ब्ल्यांकेट, २७ हजार ३ सय ११ बोरा चामल, चार हजार पाँच सय ११ किलो दाल, चार हजार चार सय ९६ पि–फोम, चार हजार तीन सय ५८ वटा म्याट्रेस, दुई हजार नौ सय १८ बोरा चिउरा, एक हजार एक सय ५४ वटा स्लिपिङ ब्याग, ७ हजार ५ सय १८ लिटरखाना पकाउने तेल, एक हजार नौ सय ८३ थान सरसफाई किट्स र ६ सय २१ थान फेमेली टेन्ट वितरण भएको छ ।

‘हामीले स्थानीय तहको संयन्त्र परिचालन गरेर क्षति विवरण संकलन गरेका हौं,’ मन्त्रालयका प्रवक्ता भट्टराईले भने,‘ उद्धारको काम सकिएको छ, राहत पछि अब स्थायी आवासको काम अगाडी बढ्छ ।’