☰ open Loading... 20 September 2024|  

भूकम्पपछिको विद्यालय :त्रिपालमुनि पढाइ
पश्चिम नेपाल   | ४ मंसिर २०८०, सोमबार २२:०९

हल्चौरको पञ्चभयार मावि भूकम्पपछि पहिलो दिन खुल्दा ६ वटा कक्षाका विद्यार्थीले खुला चौरमै बसेर पढे ।

विद्यालयका साना ठूला गरी ५ वटा भवन थिए, २ वटा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी ३ वटा भवनमा पनि क्षति पुगेको छ । तुलनात्मक रुपमा कम क्षति भएको भवनको ४ वटा कक्षाकोठामा कक्षा १, २, ५ र ६ को पढाइ सञ्चालन भयो । ‘अरु कक्षाका विद्यार्थीलाई प्रांगणमै राखेर पढाइयो’ विद्यालयका निमित्त प्रधानाध्यापक वीरबहादुर खत्रीले टेलिफोनमा भने ।

भर्खरै बनेको नयाँ भवनको एउटा कोठामा काठ थुपारिएकाले त्यसलाई पन्छाएर पढाइ सञ्चालन गर्ने विद्यालयको तयारी छ । त्यति गर्दा पनि ५ वटा अस्थायी भवन बनाउनुपर्ने उनको भनाइ छ । ‘युनिसेफले ५ वटा त्रिपाल दिने खबर पाएका छौं, बाँसको टहरा बनाएर त्रिपालको छानो बनाउने योजना छ’, उनले भने ।

१० कक्षासम्म पढाइ हुने विद्यालयका ४७९ विद्यार्थीमध्ये सोमबार पहिलो दिन १३३ जना विद्यार्थी उपस्थित भएका थिए । गाउँमा घरहरु भत्किएको र परकम्प गइरहेका कारण विद्यार्थीहरु डराएका छन्’ निमित्त प्रधानाध्यापक खत्रीले भने, ‘हामीले आज हाजिर गरेर भूकम्पदेखि डराउनुपर्दैन । भवन भत्कियो भनेर पढाइ नहुने कुरा हुन्न अब अस्थायी टहरामा भए पनि नियमित पडढाइ हुन्छ भन्यौं ।’

१५४ जनाको ज्यान जाने गरी १७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका धेरै विद्यालय भवन भत्किएका छन् । कतिपय विद्यालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको छ । अहिले पनि परकम्पहरु गइरहेका छन् । भूकम्पको त्रासका बाबजुद विद्यार्थी सोमबारदेखि पुनः विद्यालय आएका छन् ।

कतिपय विद्यालयले खुला चौरमा र कतिपयले अस्थायी टहरामा राखेर कक्षा सञ्चालन गरेका छन् । ‘बालबालिकाको मनोवैज्ञानिक त्रास कम गर्नका लागि विद्यालयसम्म ल्याएर सिकाइमा सहजीकरण गर्नुपर्छ भनेर आजदेखि कक्षा सुरु गरेका छौं’ रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले भने ।

-अनलाईनखबरबाट