☰ open Loading... 19 September 2024|  

अस्पताल भित्रकै ‘क्यान्टिन’ मा बासी खानेकुरा !
पश्चिम नेपाल   | ५ मंसिर २०८०, मंगलवार १७:१३

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रको ‘क्यान्टिन’ मै बासी तथा अखाद्य खानेकुरा बिक्री हुने गरेको पाइएको छ।

अखाद्य खानेकुरा बिक्री गरेर बिरामी, बिरामी कुरुवा लगायत सर्व-साधारणलाई ठगिरहेको जनगुनासो पछि धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल भित्र र परिसरमा रहेका तीन होटेलबाट बासी तथा अखाद्य खानेकुरा बरामद गरेको छ।

सोमबार गरिएको अनुगमनमा अस्पताल भित्रै रहेको क्यान्टिनमा बासी र अखाद्य खानेकुरा फेला पारिएको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए।

‘अस्पतालको क्यान्टिनमा बासी खानेकुराको बिक्री हुने गरेको सर्व-सधारणको गुनासोपछि अनुगमन गरेका हौ। अनुगममा क्यान्टिन लगायत अन्य दुई होटेलमा बासी र अखाद्य खानेकुरा भेटियाे’ उनले भने।

सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसलबाट बिग्रिएको म:म ४० थान, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरिएकाे कुखुराको मासु तीन केजी बरामद गरिएको उनले बताए।

क्यान्टिन संचालकलाई ७ दिनभित्र सुधार गर्न चेतावनी दिएर पहिलो पटक कानुनी कारबाही भने नगरिएको उनको भनाई छ।

सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग-अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिजरडिप फ्रिज छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको उनले सुनाए। ७ दिनभित्र सुधार नगरिएको कारबाही गरिने उनको भनाई छ।

यसैगरी भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात, कुखुराको बासी मासु ५०० ग्राम, बासी रोस्ट ५०० ग्राम र डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको उनले बताए।

सेती प्रादेशिक अस्पताल लगायत धनगढीका निजी अस्पताल परिसर र नजिकका विभिन्न होटेलहरुमा बासी खाना र अखाद्य खानेकुरा बिक्री हुने गरेको स्थानीयहरूको गुनासो छ। अस्पताल परिसर र छेउछाउका अन्य होटेलमा पनि अनुगम गरिने अनुगमन समितिका संयोजक भट्टले जानकारी दिए।

अनुगमनलाई निरन्तरता दिएर बासी तथा अखाद्य खानेकुरा बिक्री गर्ने जोकोहिलाई पनि कारबाही गरिने उनले जनाए।