☰ open Loading... 7 September 2024|  

जाजरकोटमा चिसोले नौ भूकम्पपीडितको मृत्यु
पश्चिम नेपाल   | ६ मंसिर २०८०, बुधबार १०:२६

त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्पपीडितको कठ्यांग्रिने चिसोले ज्यान जान थालेको छ । चिसोले हालसम्म नौजनाको मृत्यु भएको छ । भूकम्पका कारण त्रिपालमा बस्दै आएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरू चिसोबाट प्रभावित बनेका छन् । यसैक्रममा सोमबार बेलुका एकमहिने शिशुको चिसोकै कारण मृत्यु भएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको पूर्ववडाध्यक्ष कालीबहादुर वली बताए । ‘तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो,’ उनले भने, ‘निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको छ ।’

चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए । अत्यधिक चिसोका कारण जाजरकोट नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । खत्रीको भूकम्पमा परी घाइते भई स्थानीय मेडिकलमा उपचार गर्दागर्दै सोमबार मृत्यु भएको थियो । यसअघि चिसोका कारण शनिबार जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको मृत्यु भएको थियो ।

गत साता जाजरकोट भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको चिसोकै कारण ज्यान गएको थियो । कार्की र सिंह दमका बिरामी, गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।

चिसोले त्रिपालमा बस्दै आएका दीर्घरोगी, बालबालिका र सुत्केरी महिलालाई धेरै असर गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी बताए । ‘अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका धेरैलाई चिसोका कारणले बिरामी छन्,’ उनले भने, ‘चिसोले त्रिपालमा बस्नेहरू प्रभावित भएका छन् ।’ त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी खत्रीले बताए ।

भूकम्प गएको १८ दिन बितिसक्दा पनि अस्थायी आवास बन्नेमा अझै टुंगो लाग्न सकेको छैन । भूकम्प प्रभावितलाई तत्काल अस्थायी आवास निर्माण भनेर दुई किस्तामा गरी सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि अहिले लाभग्राहीले पाउन सकेका छैनन् । सरकार प्रक्रियाकै वरिपरि घुमेकाले ढिलाइ भइरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष गिरीले बताए । ‘प्रभावित नागरिकलाई छुट्याएको ५० हजार रकम छिटो वितरण गर्नुपर्छ । केन्द्रबाट आउने पैसाको बाटो पर्खेर कामलाई विलम्ब गरेर नागरिकलाई सधैँ त्रिपालमा राख्न सकिने अवस्था छैन्,’ उनले भने, ‘नागरिकले तत्काल परिणाम खोजेका छन् । प्रभावित क्षेत्रका नागरिकले प्रक्रियालाई छोटो बनाई छिटो अस्थायी आवास निर्माण गर्नु आवश्यक छ ।’ गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।