सरकारले आगामी दश वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजार बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी तय गरेको राष्ट्रिय रणनीति २०७७/०८७देखि २०८६/०८७सम्म नेपालमा सरकारी तर्फ कुल एक लाख ६५ हजार ७ सय ८० र निजी तर्फ एक लाख ६५ हजार ७ सय ८० गरी कुल तीन लाख ३१ हजार ५ सय ६० स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको हो।
हाल देश भरी कुल ५८ हजार १ सय २४ स्वास्थ्य जनशक्ति कार्यरत रहेको मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले जानकारी दिए। ‘अब नेपाल सरकारले सञ्चालन गरेका अस्पतालहरू अर्थात विगतका सबै अंचालमा रहेका अस्पतालहरुमा अब आगामी शैक्षिक सत्रदेखि नर्सिङ र पारामेडिकल विषयहरु अध्ययन गराउने स्वीकृति दिने मन्त्रालयको तयारी पुरा भएको छ,’ सूचना अधिकारी मिश्रले नागरिकसँग भने, ‘अस्पताहरुसँग आफ्नो सय र तीन सय बेडको अस्पताल छ । एमबिबिएस,नर्सिङ र पारामेडिकल कोर्ष सञ्चालन गर्न सके सरकारको १० वर्षे रणनीति अनुसार स्वास्थ्य जनशक्ति उत्पादन हुन सक्छ।’