☰ open Loading... 24 November 2024|  

महाअधिवेशनपछिको कांग्रेस: शेखर-गगन कित्ताकाट
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार ०७:५१

पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ।

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बनेका थिए।

शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइराला संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहेका थिए तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हटेका हुन्। कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए।

बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आएका थिए। तर एमालेको समर्थनमा कोइरालानिकट नेता केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याएसँगै कोइराला र थापाबीच संवादहीनताको अवस्था छ।कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले दुईपटक मुख्यमन्त्रीमा अघि सारेको थियो।

तेस्रो पटक मुख्यमन्त्री पद कांग्रेसले माओवादीलाई छाडिदिएको थियो तर कोइरालाले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याउँदासम्म त्यसको सुइको थापाले पाएनन्। त्यसप्रति थापा कोइरालासँग सन्तुष्ट छैनन्। त्यसले कांग्रेसभित्र संस्थापनइतर समूह थप कमजोर बन्न पुगेको छ। साथै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसमेतलाई जोडेर अघि बढ्ने कोइराला प्रयासलाई कमजोर बनाएको छ।

१४औं महाधिवेशनको सम्पूर्ण परिणाम नआउँदै १५औं महाधिवेशनको चासो र चर्चा सुरु भएको कांग्रेसमा नेतृत्व प्रतिस्पर्धाका लागि कोइराला र थापाले आआफ्नो तयारी थालेका छन्। कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाउँदा थापा लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए। त्यतिबेला पनि गुटगतभन्दा व्यक्तिगत मत मागेको आरोप खेपेका थापाले आगामी महाधिवेशन केन्द्रित राजनीतिक भेटघाट र जिल्ला दौडाहा सुरु गरेका छन्।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा ‘यस पटक र एक पटक’ भन्ने नारा दिएको भन्दै निकटहरूले थापा सभापतिको प्रत्याशी बन्ने दाबी गर्दै आएका छन्। पछिल्ला दिनमा थापाले जिल्लाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्। कोइराला पनि १४औं महाधिवेशनका बेलाको प्रतिकूल अवस्थामा पनि ४० प्रतिशत मत पाएको भन्दै आगामी महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय छन्।

४० लाई ६० प्रतिशतमा पुर्‍याउन अर्को पक्षका नेतासँग संवाद आवश्यक रहेको बताउने कोइराला देउवानिकट नेताहरूसँग निरन्तर संवादमा रहेको दाबी गरिएको छ।

त्यसलाई थापा र उनीनिकट नेताले भने कोइराला सभापति देउवासँग मिल्न लागेको आरोप पनि बेलाबेला लगाउने गरेका छन्। कोइरालाले त्यस विषयमा पटकपटक स्पष्टीकरण दिने प्रयास गर्दै आएका छन्। तर कोइराला र थापाबीच बढ्दो दुरी घटेको छैन। १४औं महाधिवेशनमा पनि संस्थापनइतर नेताहरू विभाजित हुँदा त्यसको लाभ देउवाले उठाएका थिए।

तत्कालीन कांग्रेस नेता एवम् वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई इतर समूहबाट सभापतिको उम्मेदवार हुन रोकेर कोइराला र प्रकाशमान सिंह देउवासँग नेतृत्व प्रतिस्पर्धामा उत्रिएका थिए।

नेतृत्व प्रतिस्पर्धाका लागि आफ्नै समूहबाट असहयोग भएपछि जीवनको उत्तराद्र्धमा पुगेका पौडेल कुनै पनि उम्मेदवारको पक्षमा खुलेनन्। त्यति मात्र होइन, तत्कालीन महामन्त्री शशांक कोइराला पनि इतरसमूहको पक्षमा नखुल्दाको लाभ देउवालाई पुगेको थियो।

१५औं महाधिवेशनमा पनि शशांक कोइराला र प्रकाशमान सिंह नेतृत्व प्रतिस्पर्धामा उत्रिने निकटहरूसँग बताउँदै आएका छन् भने शेखर कोइराला र गगनकुमार थापा पनि प्रतिस्पर्धामा उत्रिने निकटहरूको दाबी छ। पार्टी महामन्त्री थापालाई नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुबाहेक १५औं महाधिवेशनमा अर्को सुविधा नभएको बताउँदै निकट एक नेताले भने, ‘पार्टीको महामन्त्री अब के भनेर पछि हट्ने र अरूलाई सहयोग गर्ने ? कांग्रेसलाई सुधार गर्न पनि उहाँ नेतृत्वमा पुग्नुपर्छ।’

अब शेखर र गगनसहित संस्थापन पक्षबाट खडा हुने उम्मेदवारबीच सभापतिको प्रतिस्पर्धा हुने कांग्रेस नेताहरूको बुझाइ छ। ‘गगनजी महामन्त्रीसम्म जसरी हुनुभयो, सभापतिको उम्मेदवार पनि त्यस्तै गरी बन्ने रणनीतिमा हुनुहुन्छ,’ ती नेताले भने।

पूर्वमहामन्त्री शशांक कोइराला सभापति देउवासहितको समर्थन लिएर आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने पक्षमा छन्। उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षबाट आफू सभापतिको स्वाभाविक दाबेदार भएको बताउँदै आएका छन्।

१४औं महाधिवेशन अघिबाट देउवासँगको सम्बन्ध चिसिए पनि पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्बन्ध सुधारेर उनको उत्तराधिकारी बन्ने कोसिसमा छन्। निधि संस्थापन पक्षसँग विद्रोह गर्दै १४औं महाधिवेशनमा देउवाविरुद्ध नेतृत्व प्रतिस्पर्धामा उत्रिएका थिए तर विधानअनुसार कुनै पनि उम्मेदवारले आवश्यक मत नपाएपछि उनी देउवाकै पक्षमा खुलेका थिए। पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहको भूमिका अब कस्तो हुन्छ? अनिश्चित जस्तै छ।