☰ open Loading... 16 September 2024|  

लमजुङ अस्पताल तनावग्रस्त: प्रदर्शनकारी र प्रहरीबिच झडप
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार २०:५८

सुत्केरी र शिशुको मृत्यु घटनापछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ। बिहीबार पीडित पक्षले अस्पतालमा तोडफोड सुरु गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति बन्यो।

आक्रामक पीडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, टायर बाल्ने, उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग सहित प्रदर्शन गरेका थिए।

अवस्था तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै ८ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। प्रदर्शनकारी ढुङ्गा प्रहारबाट दुई प्रहरी समेत घाइते भएको उनले जनाए।

‘हाम्रो बल प्रयोग गर्न मनसाय थिएन, उहाँहरू आक्रामक रुपमा प्रस्तुत हुनुभयो, बालेको टायर प्रहरी जवानलाई समेत लाग्यो, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नु परेको हो।’ उनले भने।

भएको के थियो ?

गत सोमबार लमजुङको मर्स्याङ्दी गाउँपालिका –९ बस्ने २६ वर्षीय शोभा विक सुत्केरी व्यथा लागेपछि लमजुङ अस्पतालमा भर्ना भइन्।

मंगलबार दिउँसो १ बजे अपरेसन मार्फत मृत शिशुको जन्म भयो। लगतै आमाको पनि स्वास्थ्य अवस्था नाजुक देखिएपछि उनलाई चितवन रिफर गरियो।

अस्पताल स्रोतका अनुसार अपरेसनपछि सुत्केरी आमाको रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका चितवन मेडिकल कलेज रिफर गरिएको थियो। मेडिकल कलेजमा उपचारकै क्रममा आमाको बुधबार बिहान साढे २ बजे मृत्यु भएको प्रहरी निरीक्षक चपाइँले जानकारी दिए।

पीडित परिवारजनले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरी आमाको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन सुरु गरेका हुन्। बुधबार केही समयको तनावपछि साँझ अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगायतको टोली यस विषयमा वार्तामा जुटेको थियो।

लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार सो वार्तामा घटनाको छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय भएको थियो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको उनले बताए।

यो समितिले घट्नाबारे सत्य तथ्य पत्ता लगाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समक्ष ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न भनेको थियो। छानबिन गर्न गठित टोली प्रदेशबाट आज आउने भनिएको भएता पनि आउन ढिलाइ गरेको भन्दै पीडित पक्ष आक्रामक भएको बुझिएको छ।

अस्पताल परिसरमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।