कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुईहजार तीनसय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ । आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन् । ‘सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारकै प्रभाव हुन्छ । हामीले यहाँबाट केही गर्दैनौं,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले भने, ‘अहिले ह्वात्तै बढ्नुको एकमात्र कारण त इजरायल–हमास युद्ध हो ।’
महासंघकै महासचिव धर्मसुन्दर बज्राचार्य पनि शाक्यको धारणासँग सहमत छन् । ‘अहिले इजरायल–हमास युद्धकै प्रभावले मूल्य बढेको हो,’ उनले भने,‘अर्कोतर्फ विश्व बजारमा बढ्दैगएको आर्थिक मन्दीले पनि सुनको अन्तर्राष्ट्रिय मूल्यमा प्रभाव पारिरहेको छ ।’ बज्राचार्यले बजारमा मन्दी चलिरहँदा लगानीकर्ताहरूले व्यवसायी लगानीमा, सेयर बजारमा लगानी गर्न नचाहेर सुनमा लगानी गर्न थालिरहेका छन् । ‘सुन तुलनात्मक रुपमा सुरक्षित र विश्वभर सर्वस्वीकार्य सम्पत्तिको रुपमा रहेकाले धेरैले सुन किनेर राख्नथालेको बताइन्छ । यसरी एकैपटक सुनको माग बढेपछि पनि सुन महंगीएको हो,’ बज्राचार्यले भने ।
नेपाली बजारमा सुनको मूल्यश्रृंखला उछाल मार्न थालेको कोभिड–१९ को महामारी देखि नै हो । २०७६ सालको साउनमा प्रतितोला ६८ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भइरहेको थियो । त्यसपछि कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अहिले आएर हमास–इजरायल युद्धको प्रभावले चारवर्षमै सुनको मूल्य दोब्बर भएको छ ।
पश्चिम नेपाल | १७ मंसिर २०८०, आईतवार १३:४४