लमजुङको बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाई प्रहरीले पक्राउ गरेको छ ।
कालिका सहकारीको आर्थिक हिनामिना आरोप कसुरअन्तर्गत दोस्रो चरणमा अदालतबाट पक्राउ अनुमति लिएका २६ जनामध्ये क्याम्पस प्रमुख थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थापालाई आइतबार साँझ पक्राउ गरी सोमबार जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप अुनमति लिएर अनुसन्धान थालिएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि ८ जनाको पक्राउ पुर्जी जारी भएकोमा सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवालसहित ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारी भएका ८ जनामध्ये ६ जनालाई मंसिर १० गते पक्राउ गरेर अनुसन्धान थालिएपनि मुख्य दोषी भनिएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती तत्कालीन कालिका सहकारीका प्रवन्धक, हाल एकीकरण पछि बनेको कालिका सहकारीका कोषाध्यक्ष विनिता घिमिरे १ सातादेखि फरार छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले फरार रहेका घिमिरे दम्पतीको खोजीकार्य तीव्र पारिएको र पक्राउ गरिएकाहरूको अनुसन्धान भइरहेको बताए । प्रहरीले यसअघि पक्राउ गरेका ६ जनालाई शुक्रबार दोस्रोपटक ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।
मर्स्याङ्दी बहुमुखी क्याम्पसमा ३ दशक (२०४९) देखि आवद्ध थापा २०५१ सालको पुस महिनादेखि हालसम्म (२९ वर्षदेखि) क्याम्पस प्रमुखको जिम्मेवारीमा छन् । गत असोज १० गते क्याम्पस सञ्चालक समितिको मतदान प्रक्रियाबाट क्याम्पस प्रमुखमा पुनः ४ वर्षका लागि नियुक्त थापाको नियुक्ति प्रक्रिया गलत भएको भन्दै परेको रिटमा उच्च अदालत पोखराले मंसिर ६ गते खारेज गरेसँगै क्याम्पस प्रमुखको उनको पुनर्बहाली भएको थियो ।
तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेका उनी एकीकरण पछिको कालिका बचत तथा ऋण सहकारी संस्थाको सदस्यमा छन् । सहकारीको एकीकरण अभियानमा लागेकामध्ये उनी पनि एक हुन् । उनीमाथि संस्था एकीकरण प्रक्रियामा रहेको बेला सञ्चालक समितिको निर्णयबिना प्रतिबद्धता विपरीत आफ्नो सेयर रकम निकासा गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक गतिविधि तथा वित्तिय विवरण सम्बन्धमा गरिएको छानविन उपर रायसहितको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा थप २६ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएकामध्ये सबैभन्दा पहिलो नम्बरमा रहेका क्याम्पस प्रमुख थापा पक्राउ परेका हुन् । प्रहरीको पक्राउ सूचीमा रहेका अन्य अन्य २५ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । प्रहरीका अनुसार खोजी गरिरहेका सबैको मोबाइल स्विचअफ छ ।
कान्तिपुरबाट