☰ open Loading... 23 November 2024|  

रुसी सेनामा युवा पठाउने गिरोह प्रहरी फन्दामा,१२ जना पक्राउ
पश्चिम नेपाल   | २० मंसिर २०८०, बुधबार ०७:२३

नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १४ गते यता काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अपरेसन चलाएर प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीस्रोतका अनुसार पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र दोर्ण डाँगी छन्।

पक्राउ परेकाहरू रुसी सेनामा जानलाई युवाहरू खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउने सम्मका गतिबिधिमा संलग्न रहेको प्रहरी स्रोतले जनायो।

‘अपरेसन द्रूत पारेका छौं।यसमा अझैँ धेरै ठूलो गिरोह सक्रिय रहेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘केही दिनमा पक्राउ पर्नेहरूको संख्या अझै बढ्छ।’ गिरोहले अत्याधिक ठूलो संख्यामा नेपाली युवाहरूलाई रुसी सेनामा जान राजी पारिसकेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । ‘दिउँसो रसियन दूतावासमै गएर हेर्दा आजभोलि ठूलै भीड देखिन्छ। त्यो सबै गिरोहको काम हो । हामी गिरोहको अन्तिम विन्दुसम्म पुग्ने कोसिसमा छौं,’ एकजना प्रहरी अधिकारीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गिरोहले नेपाली युवालाई पहिले भिजिट भिसामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उडाउने गरेका थिए । पछिल्लो समय नेपालमा कडाई हुन थालेपछि नयाँदिल्लीको बाटोबाट रुस पठाउने गरेको पाइएको स्रोतले बतायो।गिरोहले रुस पठाउनका लागि एकजनाबाट १२ लाख रुपैयाँसम्म असुली रहेको पाइएको छ।सरकारले बेलायत र भारतीय सेनामा जानका लागि मात्रै नेपाली युवाहरूलाई वैधता दिएको छ।त्रिपक्षिय सन्धीका आधारमा दुबै देशका सेनामा बर्षौदेखि नेपाली युवा भर्ना हुँदै आएका छन्।

पछिल्लो समय रुस–युक्रेन युद्ध पछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हँुदै त्यहाँ गइरहेका छन् । कतिपय युवा युएईको बाटो हुँदै पनि रुसी सेनामा गइरहेको समाचारहरू छन्।