☰ open Loading... 18 May 2024|  

आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो
पश्चिम नेपाल   | २० मंसिर २०८०, बुधबार १९:०५

विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

आगो निभाउने क्रममा ५ जना घाइते भएका थिए। घाइतेहरूको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो। घटनास्थलमा अर्की एक जना महिला मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

आगलागीमा परी घाइते भएका ४ जनाको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पतालमा बुधबार साँझ नेपाली सेनाको एयर एम्बुलेन्समार्फत लगिएको छ। आगलागीमा परेर विराटनगर–६ का ३२ वर्षीय दीपक मण्डल घाइते भएका थिए। मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले बताए।

उनका अनुसार घटनास्थलमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन। घाइते भएकाहरूको तत्काल विराटनगरको कोशी अस्पताल र न्यूरो अस्पतालमा उपचार भएको थियो। उनीहरूको अवस्थालाई हेरेर थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवानको जिउ र हातखुट्टा जलेको छ। सोही ठाउँकी ६० वर्षीया रिता सरदारको जिउ र हातखुट्टा जलेको छ। उनीहरु दुवैको अवस्था गम्भीर भएको बताइएको छ। विराटनगर–६ का ५८ वर्षीय किशोर पासवानको दुवै घुँडा मुनी जलेको छ भने कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतको खुट्टा जली घाइते भएको डिएसपी दाहालले बताए।