भर्खरीकी सुत्केरी। पालमुनिको बसाई। मुटु छेड्ने सिरेटो। जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ चिउरीकी विमला महर सुत्केरी भएको बिहीबार १२ दिन मात्र भएको छ। उनीलाई चिसो थेग्न निकै मुस्किल परेको छ।
मंगलबारबाट धेरै वर्षा हुन नसके पनि हल्का वर्षातका कारण चिसो निकै बढेको छ। चिसोले निकै समस्यामा परेको विमलाले बताइन्। चिसोले राति निन्द्रा नपरेपछि दिउँसो घाममा सुत्ने गरेको तर तीन दिनयता भइरहेको बदलीले गर्दा समस्या भएको उनको भनाइ छ। चिसोले गर्दा होला रातभर बच्चा रोइरहन्छ। म पनि सुन्निएकी छु उनले भनिन् ‘बाँच्न गाह्रो भो त्रिपालको बसाई र चिसोले गर्दा निकै सतायो।’
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले यसरी कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिइनन्। कात्तिक १७ गते राति गएको भूकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखीमा च्यापेर मोतीकला पालमुनि बस्न बाध्य छन्।
माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफू र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतीकलालाई निकै पिरोल्न थालेको छ। मोतीकलाले शिशुलाई चिसोबाट जोगाउन निकै सकस भएको बताइन्। टेन्टभित्र आगो बाल्न नमिल्दा समस्या भएको छ मोतीकलाले भनिन्, ‘टेन्टभित्र आगो बाल्न मिल्ने भए आफू र बच्चालाई सेक्न हुन्थ्यो, आगो बाल्न मिल्दैन, चिसोले निकै सतायो। बच्चा विरामी छ। चिसोले गर्दा विहान उठ्दा मेरो मुख सुनिएको हुन्छ। कसरी बाँच्ने हो। चिसोले बाँच्नै मुस्किल भइसक्यो।’
केही दिनअघि चिउरी गाउँकी लक्ष्मी महरले गाउँमै बच्चा जन्माउन नसकेपछि नगर स्वास्थ्य अस्पताल दल्ली गइन्। अस्पतालले उनको सुत्केरी गराए पनि बच्चा बनाउन नसकिएको चिउरीकी महिला स्वास्थ्य स्वयंसेविका शीतला विकले जानकारी दिइन्।
२ सयभन्दा बढी घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसँगै १२ जना गर्भवती महिला भएको स्वयंसेविका विकले बताएकी छन्। चिउरीकी सुत्केरी र गर्भवती महिलाहरूलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यन्नको अभाव भइरहेको स्वयंसेविका विकको भनाइ रहेको छ। अधिकांश दलित बस्ती रहेको चिउरीमा भूकम्पले १३ जनाको ज्यान लिएको थियो। विपन्न बर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ।
नलगाड नगरपालिका–४ बाउसेखोलाकी २० वर्षीया पवित्रा बोहरा सुत्केरी भएको महिना दिन भयो। त्रिपालमुनि बस्नुपर्दा उनलाई पनि चिसोले सताउन थालेको छ। बच्चा पनि विरामी छ। रुघाखोकी लागेको छ। म आफंै पनि बिरामी छु उनले भनिन्, ‘निकै कष्ट छ। रात काट्न मुस्किल भो। त्रिपालको चिसोले बाँचिएला जस्तो लाग्दैन।’ कठ्याङ्ग्रिने चिसो सुत्केरीलाई निकै सताइरहेको छ।
यी सुत्केरी केही प्रतिनिधि उदाहरण मात्र हुन्। जाजरकोट भूकम्पपीडितहरूले त्रिपालमा रात कटाउन थालेको एक महिना भएको छ। दिनहुँ बढ्दो चिसोले उनीहरूको रात कष्टकर बन्दै जाँदा अस्थायी टहराका लागि सरकारले दिने भनेको सहयोग रकमको पहिलो किस्तासमेत पाउन सकेका छैनन्।
अस्थायी आवासको अनुदानका लागि कार्यविधि संशोधन गरेर सहज बनाइएको सरकारले दाबी गरे पनि स्थानीय तहले बैंक खाता खोल्नुपर्ने, प्रहरी मुचुल्का चाहिनेलगायतका झन्झटका कारण पीडित परिवारले अहिलेसम्म अनुदान पाउन सकेका छैनन्। जसका कारण अस्थायी आवासमा मंसिरभित्र सार्ने सरकारी योजना अलपत्र पर्ने देखिएको छ ।
अन्नपूर्णबाट