बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन्। उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो। माैरीपालनले उनकाे मुहारमा छाएकाे छ।
उनले भनिन्, “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ। यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ।”
अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन्। उनले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताइन्।
उनले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताइन्। “परिवारको सहयोग छ, आफैं मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्”,किसान पाठकले भनिन्, “४५ बाख्रासमेत पालेकी थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुने रहेछ, अहिले १० वटा मात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु।”
उनले ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थालेकी हुन्।
घरमा अझै पनि केही मुडेघार छन्। बाख्रापालनका लागि दुई सय राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको संख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको छ।
पचास बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ। “बाख्राभन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष एक लाख ५० हजार रुपैयाँ बराबरको अनुदानसमेत पाएकी थिएँ”, उनले भनिन्, “४५ घारबाटै वार्षिक छ लाख रुपैयाँ बढी कमाउन सकिनेरहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगमी दिनमा एक सय मौरीका घार पु याउने हाम्रो परिवारको योजना छ।”
मौरीपालनलाई रोगबाट जोगाउन सके मात्र पुग्ने उनको भनाइ छ। महिला अगाडि बढेर बाख्रापालन र मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ।
चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपछि मौरीपालनमा लागेको पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग भएकी छन्।
अहिले प्रतिकेजी एक हजार दुई सय रुपैयाँमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको बताइन्।
अर्गानिक मह उत्पादन गर्नसके बजारको चिन्ता लिन नपर्ने उनको भनाइ छ। उनको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाट समेत निर्यात गरिएको छ। मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाइ छ।
कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्र्तगत एक लाख ५० हजार रुपैयाँ अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए।
उनले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताए।