पछिल्लो समय गुल्मी जिल्लाका कृषकको मौरीपालनमा आकर्षण बढ्न थालेको छ। कम लगानीमा अर्गानिक उत्पादन र उच्च मूल्य पाउने भएकाले मौरी पालनमा ग्रामीण क्षेत्रका कृषकको आकर्षण बढेको हो।
आर्थिक वर्ष २०७९/८० मा जिल्लाभर ४ हजार ५ सय कृषकले मौरी पालन गर्दै आएका थिए। यस आर्थिक वर्षमा २०८०/८१ मा कृषकको संख्या बढेर ४ हजार ६ सय ४५ पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। हाल गुल्मीमा आधुनिक र परम्परागत गरी ३ हजार ९ सय २५ घार छन्। जसबाट वार्षिक १०.५९ टन मह उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
जिल्लाका रेसुंगा, मुसिकोट नगरपालिका, गुल्मीदरबार र मदाने गाउँपालिका मौरीपालनका लागि पकेट क्षेत्र मानिन्छ। मह उत्पादनमा वृद्धि र कृषकलाई व्यावसायिक बनाउन मागमा आधारित कार्यक्रम, स्मार्ट कृषि गाउँ, मौरी ब्लग, महिला उद्यमी कार्यक्रमसहित कृषकलाई मौरीका घार, गोला, मौरीका लागि आवश्यक उपकरण वितरण गरिरहेको ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए। ‘कम लगानीमा उच्च प्रतिफल मिल्ने भएकाले मौरीपालनमा गाउँगाउँका कृषक लागेका छन्,’ प्रमुख भण्डारीले भने, ‘खेतीबाली विषादीको कम प्रयोग र खुल्ला चरिचरन क्षेत्र भएकाले मह र कृषकको संख्यामा वृद्धि आएको छ।’
महबाट मनग्ये आम्दानी
गुल्मीदरबार गाउँपालिका– १ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि कृषि कर्ममा छन्। यतिबेला उनको बारीमा ३ सय कागती र १ सय सुन्तलाको बोटमा लटरम्म फलिरहेका छन्। यो वर्ष उनले केही सुन्तला र कागती बोटबाटै बेचिसकेका छन्। कतिपय बेच्ने तयारीमा छन्। कृषिकर्मसँगै उनी विगत २ वर्षदेखि मौरी पालनमा छन्। सुन्तला, कागती र महबाट भएको आम्दानीले घरखर्च चलाउनसमेत सहज भएको कृषक फुङ्जेली बताउँछन्। ‘दुई वर्ष पहिले ज्ञानकेन्द्रले १० घार मौरी दिएको थियो, अहिले फस्ट्याएर ४० घार पुगेको छ। मह र मौरीबाट राम्रै आम्दानी भएको छ, त्यसैले यसको व्यवसाय बढाउने तयारी गरिरहेको छु,’ उनले भने। nullसुन्तला र कागतीको बगैंचामा आफूले उत्पादन गरेका आर्गानिक मह काड्दै गुल्मीदरबार गाउँपालिका १ बलिथुमका मानबहादुर फुङ्जेली र श्रीमानलाई काममा सघाउँदै श्रीमती । तस्बिर : मनोज कार्की
कृषक फुङ्जेली जस्तै रेसुंगा नगरपालिका–४ अर्खलेका कृष्णप्रसाद भण्डारीले विगत २ वर्षदेखि मौरी पाल्दै आएका छन्। थोरै लगानीबाट मनग्ये आम्दानी हुने भएकाले मौरीपालनमा लागेको कृषक भण्डारी बताउँछन्। शुद्ध मह दम र रुघाखोकी जस्ता रोगका लागि उपयुक्त मानिन्छ। चिसो र बर्खा समय, अरिंगालबाट बचाउन सकेमा मात्र मह उत्पादन बढाउन सकिने कृषक भण्डारीले सुनाए।
बजारीकरणले कृषकमा उत्साह
आर्गानिक र शुद्ध मह उत्पादन हुने भएकाले जिल्लाभरका कृषकलाई बजारीकरणमा कुनै समस्या छैन। गाउँठाउँमा उत्पादन भएको अर्गानिक मह प्रतिकिलो १ हजार ५ सय र ८ देखि १० हजारमा मौरीसहित घार बिक्री हुने कृषक बताउँछन्। मह स्थानीय स्तरमै खपत हँुदै आएको छ। शुद्ध मह औषधिको रूपमा प्रयोगमा आउने भएकाले बजारमा माग बढ्दो छ।
महको उत्पादनभन्दा माग बढी छ। मह र मौरीलाई बजारीकरणमा समस्या छैन। यो समय प्रायः तोरीलगायतका फलफूल फुल्ने भएकाले मह उत्पादन बढिरहेको छ। प्राविधिक ज्ञान, सीपको व्यवस्था भएमा अझ मह उत्पादनमा वृद्धि गर्न सकिने कृषकको अपेक्षा छ।