रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं. ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ।
दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।
यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ। विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं. १० का ३८ वर्षीय रमेश सार्की, वडा नं.८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन्।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ