☰ open Loading... 25 November 2024|  

भूकम्प प्रभावित दुई स्थानीय तहमा अझै वितरण भएन अनुदान
पश्चिम नेपाल   | ८ पुष २०८०, आईतवार ०६:४९

जाजरकोट । सरकारले जाजरकोट भूकम्पप्रभावितका लागि अस्थायी आवास बनाउन पहिलो किस्ता बापतको रकम निकासा गरिसके पनि दुई पालिकाले भने अझै पीडितलाई वितरण गरेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले जिल्लाका सात वटै स्थानीय तहमा रकम पठाए पनि नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाले वितरण नगरेका हुन् ।

नलगाडमा मात्रै ८ हजार ९७ लाभग्राही छन् जसमा अहिलेसम्म पहिलो किस्ताका लागि ८ हजार २२ जनाले सम्झौता गरेका छन् । त्यस्तै जुनिचाँदेमा २ हजार ५ सय ६३ लाभग्राही भएकोमा हालसम्म कसैले पनि सम्झौता गरेका छैनन् । पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार कर्मचारी विभिन्न संघसंस्थाले आयोजना गरेका छलफल तथा गोष्ठीमा सहभागी जिल्ला बाहिर गएका कारण लाभग्राहीले पहिलो किस्ताबापतको रकम नपाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

 

जिल्ला विपत व्यवस्थापन समितिले ६ हजार १ सय ९९ लाभग्राहीका लागि १५ करोड ४९ लाख ७५ हजार रुपैयाँ सम्बन्धित स्थानीय तहको खातामा पठाएको छ । हालसम्म जाजरकोटमा ५ हजार २ सय ३ अस्थायी आवास बनेका छन् । जसमध्ये नलगाड नगरपालिकामा ३ हजार २ सय ३७, बारेकोट गाउँपालिकामा १ हजार ६ सय ३१, भेरी नगरपालिकामा १ सय ५०, कुशे गाउँपालिकामा १ सय ८ र शिवालय गाउँपालिकामा ७७ वटा निर्माण भएका छन् । छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा हालसम्म कत्ति पनि अस्थायी आवास बनाइएको छैन ।

जिल्लाभर ३५ हजार १ सय ४० लाभग्राही भएकोमा हालसम्म पहिलो किस्ताका लागि १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू बनाएर गत कात्तिक १७ गते मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । समयमै अस्थायी आवास बन्न नसक्दा भूकम्पमा घरबास गुमाएकाहरु कठ्यांग्रिदो जाडोमा पालमा बस्न बाध्य छन् ।