☰ open Loading... 16 September 2024|  

मुगुमा अनमीमाथि जातीय भेदभाव
पश्चिम नेपाल   | ८ पुष २०८०, आईतवार ०७:५४

सोरु गाउँपालिका-९ खनैयाँ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ। जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन्।

दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनैयाँ स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इन्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन्। डेरा लिएर बसेको करिब नौ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन्।

‘पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं, अब कोठा छोडेर अन्यत्र जाऊ, पानी नचल्ने जात रहेछ पहिले थाहा भएन अब कोठा छोड।’
गत सोमबार दलितले छोएको औषधि गाउँलेले खाँदैनन् तुलसालाई गाउँ निकाला’ भन्ने सूचना समाजिक सञ्जालमा आएपछि सुरक्षाकर्मी, पालिका उपाध्यक्ष र सञ्चारकर्मीहरू खनैयाँ स्वास्थ्य केन्द्रमै पुगेर तुलसालाई मंगलबार जिल्ला सदरमुकाम गमगढी ल्याएका थिए। गमगढीमा उनले आफूले भोगेको विभेदबारे जानकारी दिएकी थिइन्।

सोधपुछको क्रममा तुलसाले मैले छोएको औषधि गाउँलेले खाएनन् र मलाई गाउँलेले गाउँ निकाला गरेको भन्ने सामाजिक सञ्जालको समाचार गलत र मिथ्या भएको तर घरभेटीले चाहिँ जातकै आधारमा कोठा छोड्न लगाएको बताएकी छन्।

अनमी तुलसाले जातीय विभेदको हिंसा भोग्नुपरेको विषयमा शुक्रबार राती ९ बजे उजुरी लिएर आएको तर दर्ता नभएको पाइएको छ। सो विषयमा अनुसन्धान गरि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए।

तुलसाले यथार्थ बताएपछि प्रहरी र जनप्रतिनिधिले उनको उद्धार गरेर मंगलबार सदरमुकाम पुर्‍याएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, डिएसपी वीरेन्द्र थापासहित सरोकारवाला बसेर तुलसासँग छलफल गरेको थियो।

‘ममाथि जातीय विभेद भएको वैशाखदेखि नै हो। सुरज सरको मम्मीले त्यहीबेला पानी नचल्ने जातकी रहेछौ, पहिले थाहा भएन, अब अन्तै कोठा खोज्नू, नानी बसेकाले हामीलाई गाउँमा नराम्रो भन्न थाले, अप्ठ्यारो भयो भन्नुभयो, तर मैले प्रहरी होइन, घरमा समेत भनेकै थिइनँ,’ तुलसाले भनिन्, ‘म न्याय माग्नेभन्दा पनि त्यहाँबाट सरुवा लिएर भाग्न खोजिरहेकी थिएँ। तर ममाथि जातीय विभेद भयो, मलाई काजमा भए पनि अर्को ठाउँ सरुवा गरिदिनुस् भन्दा कसैले सुनेनँ।’

‘दलितले छोएको औषधि यहाँ चल्दैन, त्यो किन सत्य हो भने जब म दलित हुँ भनेर थाहा पाएपछि यहाँ सामान्य पसलमा सामान दिँदासमेत हाताहात दिँदैनन्,’ उनले भनिन्, ‘पैसासमेत भुइँमा राखेर लिनुदिनु परेको अनुभव म आफैंले गरें। उनले आफूलाई जातीय भेदभाव र लैंगिक दुर्व्यवहार गर्नेहरूलाई सजाय माग गरेकी छन्।

‘ममाथि अन्याय भएको छ, मैले न्याय पाउनुपर्छ,’ उनले भनिन्। यो विषयमा संलग्न लाई प्रहरीले नियन्त्रणमा लगेको जनाएको छ।