☰ open Loading... 18 May 2024|  

विषादी प्रयोगशालामा छैनन् उपकरण
पश्चिम नेपाल   | १४ पुष २०८०, शनिबार ११:५८

कपुरकोट गाउँपालिका-३ कपुरकोट बजारमा रहेको विषादी तथा रोग किट परीक्षण प्रयोगशाला भवनमा सीमित छ । भवन निर्माण गरेको तीन वर्ष बितिसक्दा पनि प्रयोगशालामा आवश्यक पर्ने उपकरण आइपुगेका छैनन् । यहाँको प्रयोगशालाका लागि ल्याइएका उपकरण कृषि मन्त्रालय सुर्खेतमा थन्किएका छन् ।

;विषादी प्रयोगशालामा छैनन् उपकरण

कपुरकोट गाउँपालिका बेमौसमी तरकारी खेतीको लागि प्रख्यात भएको र किसानले उत्पादन गरेको तरकारीमा विषादी धेरै प्रयोग गरेको पाइएपछि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले ०७७ मा कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाएको थियो । तर अहिलेसम्म प्रयोगशाला सञ्चालनमा आएको छैन ।

प्रयोगशाला सञ्चालनमा नआउँदा किसान अहिले पनि परम्परागत शैलीमै खेती गर्न बाध्य छन् भने विषादी प्रयोग ग‍र्नेहरुलाई समेत त्यसको उपयोग गर्नेबारे ज्ञान छैन । कुन रोग तथा किटाणु नियन्त्रणका लागि कुन विषादी प्रयोग गर्ने भन्नेबारे अन्योल झेल्नुपरेको किसानको गुनासो छ ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तथा अगुवा कृषक प्रकाश भण्डारीले प्रयोगशालामा चाहिने उपकरण नभएकै कारण अहिलेसम्म सञ्चालनमा आउन नसकेको बताए । कृषि विकास कार्यालय सल्यानद्वारा सञ्चालित केयुविके कार्यक्रमबाट २०७१/०७२ तिर कृषि सेवा केन्द्रको लागि भनेर पहिलो तला भवन निर्माण गरिएको र पछि सेवा केन्द्र संचालन हुन नसकेपछि विषादी तथा रोग किट परिक्षण प्रयोगशालाको लागि त्यही भवन प्रयोग गरिएको हो ।भवनमा तला थप गर्न ०७८ मा थप ५० लाख रुपैयाँ खर्च भएको थियो ।

‘प्रयोगशालाका सामग्री सुर्खेतमा थन्किएका छन् । हामीले पटक-पटक त्यसबारे पहल गर्दा पनि प्रदेश मन्त्रालयले ती उपकरण पठाइदिएको छैन,’ उपाध्यक्ष भण्डारीले भने, ‘प्रयोगशालामा विज्ञ नहुँदा तरकारीमा प्रयोग गरेको विषादी उपभोग योग्य छ या छैन भन्ने जान्न पाएका छैनौँ । तरकारीमा विषादी प्रयोग गर्ने तरिकाका बारेमा अहिलेपनि किसान अन्यौलमा छन् ।’

उपाध्यक्ष भण्डारीले प्रयोगशाला नभएकै कारण विषादी परीक्षण गर्न नपाउँदा कपुरकोटमा उत्पादित तरकारीलाई ब्रान्डिङ्ग गर्न नसकेको बताए । प्रयोगशाला सञ्चालनका लागि एक महिला कर्मचारी खटाएको छ । प्रयोगशाला नभएका कारण आफुले पसलबाट किनेर ल्याएको विषादी पसलेको सल्लाह तथा छिमेकीको सल्लाह अनुसार प्रयोग गर्नु पर्ने अबस्था रहेको कपुरकोट गाउँपालिका-४ किमुचौरका किसान कलिराम पुनले बताए ।

‘प्रयोगशालामा उपकरण छैनन् । प्राविधिक पनि छैनन्,’ उनले भने, ‘भवनले मात्रै सेवा दिदैन रहेछ ।’ उनले प्रयोगशाला सञ्चालनका लागि पहल गरिदिन सबैलाई गुहार गरेको बताए ।

गाउँपालिका अध्यक्ष दर्गाबहादुर पुनले भने प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरण प्राप्त नभएको बताए । ‘प्रयोगशाला अति आवश्यक छ । हामीले प्रदेशको मन्त्रालय र कृषि मन्त्री भीमप्रकाश शर्मालाई भेटेर समेत ताकेता गर्दै आएका छौँ,’ उनले भने, ‘यहाँका लागि आएका उपकरण सुर्खेतमा थन्किएका छन् । प्रदेशले ती उपकरण नदिए पालिकाले मात्रै यति ठुलो प्रयोगशाला सञ्चालन गर्न सक्दैन ।’

कान्तिपुरबाट