☰ open Loading... 18 October 2024|  

पुस २० गतेदेखि सुर्खेतमा राष्ट्रिय भलिबल हुने
पश्चिम नेपाल   | १८ पुष २०८०, बुधबार ०७:३०

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले पुस २० गतेदेखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ। प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापक कर्णाली प्रदेश भलिबल संघ रहेको संघका कर्णाली अध्यक्ष कृष्ण श्रेष्ठले बताए।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गर्ने जनाइएको छ। एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आउनेछन्। प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ। साे मध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउने भएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो। कर्णाली भलिबल खेलको उर्वरभूमि भएपनि प्रतियोगिता र प्रशिक्षक नहुँदा पछाडि परेको नेपालका लागि पहिलो भलिबल क्याप्टेन रेशम गुरुङले बताए। उनले आफूहरू ३१ सालअघि देखि भलिबल खेल क्षेत्रमा लागिपरेको समेत सुनाए।