☰ open Loading... 18 October 2024|  

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ७.८ डिग्री
पश्चिम नेपाल   | १८ पुष २०८०, बुधबार ११:१३

नेपालगञ्जमा चिसो अत्यधिक रुपले बढेको छ। चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

जल तथा मौसम कार्यालय नेपालगञ्जका नायव मौसम विज्ञान सहायक कुमार रानाका अनुसार आज बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। ‘यो आज बिहान ८ बजेर ४५ मिनेटमा मापन गरिएको तापक्रम हो,’ उनले भने।

यसअघि मंगलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो। कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा कायम गरिँदा नेपालगञ्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो।

नायव मौसम विज्ञान सहायक रानाले बुधबारको तुलनामा मंगलबार झनै कम रहेको बताए। हुस्सु र कुहिरोले नेपालगन्जलाई ढाँकेको छ। केहीदिन यता नेपालगञ्जमा राम्ररी घाम लाग्न पाएको छैन।

चिसो बढ्दै जान थालेपछि बालबालिका, जेष्ठ नागरिक लगायत प्रभावित भएका छन्। कठ्यांग्रिदो चिसोमा पनि बालबालिकाहरु बिद्यालय जान बाध्य छन्।