जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले राउटे बस्तीमै पुगेर न्यानो कपडासहित त्रिपाल वितरण गरेको हो।
दिनानुदिन चिसो बढ्दै गएपछि राउटे जनजीवन कष्टकर हुन थालेसँगै ४१ घरधुरी रहेका राउटे समुदायलाई फाइबर सिरक, कम्बल, छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिक डोरी, बाल्टिन, जंग र टर्चलाइटसहित त्रिपाल वितरण गरिएको हो।
सामग्री राउटे बस्तीमै पुगेर दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वको जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले वितरण गरेको हो।
सहयोग आउने गरे पनि यति बाक्ला र न्याना कपडा पहिलोपटक आएको भन्दै राउटे मुखिया दिलबहादुर शाहीले खुसी व्यक्त गरे। ‘जनता चिसोले हैरान थिए’, मुखिया शाहीले भने, ‘यो कपडाले अब राति तातो हुने भयो। चिसो बढेसँगै बस्तीमा हिजोआज आधा रातसम्म आगो तापेर राउटे बस्ने गरेका थिए।’


राउटेहरू माघीलाई विशेष पर्वका रूपमा मान्छन्। माघ १ गते मनाउने राउटेहरू भत्ता नआउँदा चिन्तित छन्। अर्का राउटे मुखिया सूर्यनारायण शाहीले प्रमुख जिल्ला अधिकारी भुसालसँग आफ्नो बस्तीमा माघी मनाउनका लागि खसी व्यवस्थापन गरिदिन अनुरोध गरेका छन्।
भैरवी गाउँपालिका ५ घरखेतबाट एक महिना बसेर राउटेहरू भैरवी गाउँपालिका ४ गडाजिउला खोलामा नयाँ बस्ती सरेका छन्। अहिले राउटे समुदायमा एक सय ४१ जना छन्।



