☰ open Loading... 20 September 2024|  

दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
पश्चिम नेपाल   | २२ पुष २०८०, आईतवार ११:४५

झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

भद्रपुर–४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०१–०१३प ९६०७ नम्बरको मोसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए।

घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकामा उपचारको क्रममा दाहालको मृत्यु भएको हो। मोरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००२ख ०१४९ यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे१प ७२४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।

दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको जनाइएको छ।

वनभोज खाएर फर्किँदै गरेको उक्त बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।