☰ open Loading... 7 September 2024|  

पुलिसले जित्यो ३४औँ राष्ट्रिय भलिबलको उपाधि
पश्चिम नेपाल   | २६ पुष २०८०, बिहीबार १६:१०

विभागीय टिम नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा भएको फाइनल खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो । पुलिस पहिलो सेटमा एपीएफसँग २५-२२ ले पछि पराजित भयो ।

दोस्रो सेटमा पुलिसले एपीएफलाई २५-१९ र तेस्रो सेटमा २५-१८ ले पराजित गरेको थियो । अन्तिम तथा निर्णायक सेटमा एपीएफलाई २५-२३ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै पुलिसले समूह चरणमा एपीएफसँग ब्यहोरेको हारको बदला पनि लिएको छ ।

यसअघि बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५-२२ ले हराएको थियो । दोस्रो सेटमा भने गण्डकी २६-२४ ले पराजित भयो । त्यसपछिका सेटमा भने गण्डकी लगातार जित निकाल्न सफल भयो । तेस्रो सेटमा आर्मीलाई २६-२४ ले र चौथो तथा अन्तिम सेटमा २५-२२ ले हराउँदै गण्डकी तेस्रो भएको हो ।