☰ open Loading... 23 December 2024|  

दैलेखमा१ लाख बढिले लगाए टाइफाइड विरुद्धको खोप
पश्चिम नेपाल   | २७ पुष २०८०, शुक्रबार १७:५९

दैलेख । सरकारले सञ्चालन गरेको टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत दैलेखमा १ लाख १४ हजार ३ सय २२ जनाले खोप लगाएका छन् ।यही पुस ६ देखि २१ सम्म सञ्चालन गरिएको खोप अभियान अन्तर्गत ६६ हजार ७ सय ६५ जना महिला र ४७ हजार ५ सय ५७ जना पुरुष गरी १ लाख १४ हजार ३ सय २२ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार टाइफाइड ९८ प्रतिशत खोपको पहुँच पुगेको छ ।

जिल्ला भरीका ४ सय २२ खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो । आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा रुवेलाका साथै टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको खोप अधिकृत रेग्मीले बताए ।