दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुवाहक बस नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार राति नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो।
दुर्घटनामा बसमा सवार पाँच जनाको मृत्यु भइसकेको र २६ जना घाइते भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।
‘बसमा सवार पाँच जनाको मृत्यु भइसकेको छ। पाँच जना च्यापिएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको छ। अहिले च्यापिएको गाडी भर्खरै पल्टाएर हामी निकाल्दै छौं।’ उनले भने।
दुर्घटनामा घाइते यात्रुलाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको छ। मृतक र घाइतेहरुको भने पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सई राम बहादुर चौधरीले जानकारी दिए।
घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार जारी राखेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।