☰ open Loading... 20 September 2024|  

पहिला छोरीको बलात्कार, जाहेरी दिँदा छोराको हत्या
पश्चिम नेपाल   | ४ माघ २०८०, बिहीबार ०६:५२

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका भरत बुढाले आफ्नी बहिनी बलात्कृत भएको बताउँदै कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए।

जाहेरीमा मामा घरमा रहेकी बहिनीलाई असोज २७ गते घरमा बोलाएर बुवा नयाँराम बुढाले बलात्कार गरेको उल्लेख थियो। बुवाबाटै छोरी बलात्कृत भएको जाहेरी आएपछि प्रहरी नयाँरामलाई खोज्न उनको गाउँ पुग्यो। जाहेरी दर्ता हुँदासम्म उनी भारत पुगिसकेका थिए।

सोही ठाउँमा सोमबार राति अर्को घटना भयो। बुवाबाटै बहिनी बलात्कृत भएको जाहेरी दिने भरत मृत अवस्थामा फेला परे। प्रहरीका अनुसार बहिनी बलात्कृत भएको भनिएकै ठाउँ नजिकै भरतको शव फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले छोरी बलात्कार आरोपी नयाँरामलेनै आफूविरुद्ध जाहेरी दिने छोराको हत्या गरेको देखाएको छ। प्रहरीका अनुसार नयाँराम १७ वर्षीय छोरा र १५ वर्षीय छोरीको हत्या गर्ने योजना बनाएरै पुस २७ गते भारतबाट हिँडेका थिए।

उनी सोमबार गाउँ पुगेको देखिन्छ। नयाँराम गाउँ नजिकैको जंगलमा दिउँसो लुकेर राति भएपछि घर पुगेको आशंका प्रहरीको छ।

‘राति १२ बजेतिर पिसाब फेर्न दाइ–बहिनी घर बाहिर निस्केको बेला सुरुमा बहिनीमाथि आक्रमण भएको देखिन्छ,’ प्रहरी निरीक्षक कृष्ण खड्काले भने, ‘बहिनी चिच्याएको सुनेर भाइ नजिक पुग्दा उनीमाथि पछाडिबाट बन्चरोले हानेको देखिन्छ।’ बलात्कार पीडित (६४ वीरेन्द्रनगर क) ले प्रहरीलाई दिएको प्रारम्भिक बयानका क्रममा सुरुमा आफूमाथि आक्रमण भएको उल्लेख छ।

‘राति एक्लै बाहिर आउन डर लाग्थ्यो, त्यसैले दाइलाई व्यूझाएर पिसाब फेर्न आएकी थिएँ,’ प्रहरीलाई दिएको बयानमा ‘६४ वीरेन्द्रनगर क’ ले भनेकी छन्, ‘बन्चरोले सुरुमा ममाथि आक्रमण भयो, छेक्ने क्रममा छुट्टामा चोट लाग्यो, त्यसपछि दाइमाथि आक्रमण भयो।’

उनले आफूमाथि आक्रमण हुँदा बुवालाई चिनेको बताइन्। ‘हामी दुवै दाइ–बहिनीलाई मार्नकै लागि उहाँ भारतबाट आएर बाख्राको खोर नजिकै कुर्नु भएको रहेछ,’ उनले भनिन्, ‘मलाई हान्न लागेको बन्चरोको पछाडिपट्टीले भागले खुट्टामा लागेपछि गराएँ, त्यतिकैमा दाइमाथि आक्रमण भयो।’

प्रहरीका अनुसार जाहेरी नदिन सुरुमा नयाँरामले छोरालाई दबाब दिएका थिए। जाहेरी दिएमा दाइ–बहिनी दुबैलाई मार्ने धम्की उनले दिँदै आएका थिए। बुवाको धम्कीका कारण घटना भएदेखि बहिनीलाई एक्लै छोडेका थिएनन्।

भरतकी आमा दोस्रो विवाह गरेर गएपछि नयाँरामले पनि दोस्रो विवाह गरेका थिए। बुवाले दोस्रो विवाह गरेपछि भरतकी बहिनी मामा घरमा बस्दै आएकी थिइन्। उनलाई घरमा भेट्न बोलाएर नयाँरामले बलात्कार गरेको भरतले दिएको जाहेरीमा उल्लेख छ। छोरी बलात्कारपछि घरबाट श्रीमतीसहित भागेका उनी माघ १ गते गाउँ पुगेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार उनी नेपाल आएर भारतमा रहेकी श्रीमती र ससुरालाई फोन गरेका थिए। राति १२ देखि १ बजेको समयमा हत्या गरेर उनी फरार भएको प्रहरीको अनुमान छ।

‘उ अझै भारत पुगिसकेको छैन, लोकेसन कैलालीको लम्कीचुहा नगरपालिका आसपास देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामी खोजीमै छौं, अपराधमाथि अपराध गर्ने मानिसलाई जहाँ रहेपनि छोड्दैनौं।’