☰ open Loading... 20 September 2024|  

कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
पश्चिम नेपाल   | ४ माघ २०८०, बिहीबार ०९:५८

काठमाडौँ । २०२८ सालमा वडाध्यक्ष जितेर राजनीतिमा प्रवेश गरेका अम्मरबहादुर थापा अहिले पनि राजनीतिमै सक्रिय छन् । दैलेख जिल्लाबाट तीन पटक संसदमा प्रतिनिधित्व गरेका थापा अहिले नेकपा समाजवादीको तर्फबाट प्रतिनिधि सभामा सांसद छन् । पञ्चायतविरुद्ध सङ्घर्ष गरेको अनुभवसमेत रहेका थापालाई जनताले यति मन पराए कि स्वतन्त्र भएर चुनाव लड्दा पनि जिताई दिए । देश निर्माण र जनताको पक्षमा आवाज उठाउँदै आएका सांसद थापालाई यहाँको कच्चा पर्दाथ सदुपयोग गरेर नेपाललाई उत्पादनमुखी कसरी बनाउन सकिन्छ भन्ने चिन्ता सधैँ लाग्ने गर्दछ । विदेशीसँग मागेर नभई जनतालाई नै सहभागी गराएर विकासमा अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

थापाका अनुसार भ्रष्टाचार बढ्नुमा कर्मचारी बढी जिम्मेवार भए पनि नीतिगत भ्रष्टाचारमा नेताहरू पनि संलग्न छन् । उनी भन्छन्, ‘कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ हात पारिदियो भने मन्त्रीदेखि नेताहरूसम्म सबै मख्खपर्ने प्रवृत्ति छ ।’

सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, कर्मचारीतन्त्रलगायतका विषयमा सांसद अम्मरबहादुर थापासँग प्रशासन डटकमका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

तपाई सांसद भएपछि कुन विषयलाई केन्द्रमा राख्नु भएको छ ?
मैले दुई वटा विषय प्राथमिकतामा राखेको छु । देश निर्माण र जनताको पक्षमा संसद र सार्वजनिक स्थानमा बोल्ने गरेको छु ।
पहिलो कुरा नेपाललाई उत्पादनमुखी कसरी बनाउन सकिन्छ ? यहाँको कच्चा पदार्थलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ ? यसबारेमा सरकारसहित सबैको ध्यान जान जरुरी छ । उत्पादनमा केन्द्रित हुन नसक्दा कच्चा पर्दाथ सडेर जाने अवस्था छ । हामीले केही गर्न नसकेकै कारण देश गरिबीको रेखा मुनी छ, यसको अन्त्य हुनुपर्छ ।

दोस्रो कुरा जबसम्म गरिबी अन्त्य गर्न सक्दैनौँ, तबसम्म देश अगाडी बढ्न सम्भव छैन । गरिबी अन्त्य गर्नका लागि नागरिकको जीवनस्तर सुधार गर्न जरुरी छ । गरिबीको रेखा मुनी रहेका किसानहरूको जीवनस्तर सुधार नभएसम्म विकास सम्भव छैन ।
मागेर ल्याएका योजनाले विकास सम्भव छैन । कर्णालीमै भएको कच्चा पदार्थको प्रयोग गरेर राष्ट्र समुन्नत बनाउ सकिन्छ । देशमै भएको कच्चा पर्दाथ प्रयोग गरेर उत्पादन जबसम्म हुँदैन तबसम्म देशको ढुकुटी बलियो हुँदैन ।

हामीले व्यवस्था परिवर्तन गर्‍यौ, तर अवस्था परिवर्तन गर्न सकिरहेका छैनौँ । अब अवस्था परिवर्तनमा लाग्नु पर्छ । मैले प्राथमिकतामा राखेका विषयलाई ध्यान दिने हो भने यो सम्भव छ । नेपालको पानीमा सुन बगेको भन्छन्, तर यसको सदुपयोग भएको छैन । विदेशबाट ऋण मागेर ल्याएर हुँदैन, नेपाली जनतालाई नै सहभागी गराएर अगाडी बढ्नु पर्छ । नेपालले जलस्रोत, युरेनियम, ढुङ्गा लगायत जडीबुटी र खनिजको व्यापार गर्न सक्छ ।

राजनीति सेवा हुनुपर्ने, तर नेताले पेसा बनाई रहेका छन्, के भन्नुहुन्छ ?
नेताहरुले राजनीतिलाई पेसा मात्र होइन, कसरी नोटको राजनीति गर्ने भन्नेमा लागेका छन् । नोटको राजनीति गर्ने प्रवृत्ति बढेको छ । आफूलाई फाइदा भएन भने कार्यकर्तादेखि नेतासम्मले ध्यान दिँदैनन् । मन्त्री बन्नका लागि अंशबन्डाको राजनीति छ ।
क्षमताले भन्दा पनि पावरले पद ओगट्ने प्रवृत्ति छ । जबसम्म यो प्रवृत्ति रहन्छ, तबसम्म देशको विकास सम्भव छैन । यो प्रवृत्तिको सुधार हुनुपर्छ ।

भ्रष्टाचार बढ्नुमा राजनीतिज्ञ र कर्मचारीमा को जिम्मेवार छ जस्तो लाग्छ ?
भ्रष्टाचार बढ्नुमा बढी जिम्मेवार कर्मचारी छन् । र नेताहरू पनि नीतिगत भ्रष्टाचारमा संलग्न छन् । नेताहरूमा केही आदर्श पनि हुन्छ । तर, कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ हात पारिदियो भने मन्त्रीदेखि नेताहरूसम्म सबै मख्खपर्ने प्रवृत्ति छ ।

अहिलेको अवस्था परिवर्तन गर्नु भनेकै व्युरोक्रेसीलाई परिवर्तन गर्नु हो । व्युरोक्रेसी डेन्जर छ, नेताहरूलाई खाल्टोमा हाल्दिन्छ । आफ्नो अनुकूल छैन भने प्रस्ताव नै अगाडी नलैजाने प्रवृत्ति छ । व्युरोक्रेसीलाई आमूल परिवर्तन गर्न हिजोको पञ्चायत कालको दिमागलाई परिवर्तन गर्न जरुरी छ । यदि परिवर्तन गर्न सकिएन भने देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन ।

एक/दुई जनालाई सामान्य कारबाही गरेर थुनेर भ्रष्टाचार नियन्त्रण नहुँदो रहेछ । भ्रष्टाचार नियन्त्रणका लागि व्यवहार, विचार र चरित्रमा परिवर्तन हुन जरुरी छ । नयाँ पुस्ता आएपछि भ्रष्टाचार नियन्त्रण होला भन्ने लागेको थियो । नयाँ पिँढी झन् भ्रष्टाचारी भएर निस्कियो । भ्रष्टाचार नियन्त्रण गर्नका लागि आउँदै गरेको विधेयकमा मैले आजीवन कैदको व्यवस्था हुनुपर्छ भनेर संशोधन हालेको छु ।

सार्वजनिक सेवा कस्तो छ, पहिचान छिपाएर सेवा लिनु भएको छ ?
पहिचान छिपाएर सेवा लिएको छैन । जनताले नै चिन्दछन्, कसरी छिपाउनु पहिचान । सार्वजनिक प्रशासन सन्तोषजनक छैन । परिवर्तन गर्न जरुरी छ ।

कर्मचारीतन्त्र सुधारका लागि तपाईँको सुझाव के रहन्छ ?
कर्मचारीतन्त्रलाई मैले बारम्बार सुझाव दिएको छु । सुधारका लागि म संविधान सभाको सांसद हुँदा पनि सचिवहरूसँगै बसेर छलफल गरेको छु ।

सचिवज्यूहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाल राम्रो भयो भने भविष्यका लागि सन्ततिहरूले बिदेसिनु पर्दैन र विदेशिएका पनि नेपाल फर्कन सक्छन् । देशभित्रकै कच्चा पदार्थको प्रयोग गरेर उत्पादन कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिनु पर्छ ।
यो विषयलाई प्राथमिकता दिने हो भने आगामी १० वर्षमा नेपाल विकसित मुलुक तर्फ उन्मुख हुन्छ ।

तपाईँको पार्टी पनि सरकारमा छ, सरकारका कामबाट सन्तुष्ट हुनुहुन्छ?
केही कुरामा सन्तुष्ट छु । मैले २०७० सालबाट उठाउँदै आएको विषय अहिले प्रधानमन्त्रीज्यूले पनि उठाउनु भएको छ ।
बिजुली उत्पादन गरेर भारतलाई बेच्ने विषय आशाको विषय हो । तर, पूर्णरुपमा सन्तुष्ट हुने स्थिति छैन ।प्रशासन बाट