☰ open Loading... 12 March 2025|  

१२ वर्षीया राउटे बालिकाको मृत्यु
पश्चिम नेपाल   | ६ माघ २०८०, शनिबार ०७:१७

दैलेखको भैरवी गाउँपालिका-४ को गड जिउलामा बस्दै आएकी राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको छ। हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो।  एक महिनादेखि बिरामी रहेकी उनको उपचार हुन सकेको थिएन।

उनी विरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिए पनि बिहीवार राति मृत्यु भएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जानकारी दिए। हरिबहादुर शाहीका दुई छोरा र एक छोरी छन्। छोरीको मृत्युपछि हरिबहादुर चिन्तामा छन्।

औषधि खाँदा विरामी सन्चो हुँदै गएको भए पनि माघेसंक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रवार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएको खत्रीले बताए। गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रवार नै चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ सुईयातडामा बसाइँ सरेका छन्।

चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ। चिसो भुईंमा रात कटाउनुपर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन्। पछिल्ला वर्षहरूमा राउटे समुदायको जनसंख्या घट्दै आएको छ। अहिले राउटेको संख्या १३७ रहेको छ। तीमध्ये ६५ जना बालबालिका छन्।