शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ । दश वर्षअघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्।
उनले ९ रुपैयाँ प्रति किलोमा नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो, तर ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, केही समय लाइन लागेर पाँच किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी पर्यो।’ पिँठ्युमा बच्चा च्यापेर नुन लिन आएकी शाहीले गुनासो पोखिन्, ‘नुन लिन आउँदा पाँच–छ पोका भन्दा दिँदैनन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’
ठूलो घरपरिवारमा पाँच केजी नुन अभाव देखिएको तिलागुफा ७ छाप्रेका गगनबहादुर शाही बताए। उनले भने, ‘पहिला गाइबस्तु, भेडा बाख्रालाई खुवाउन धेरै सस्तो हुन्थ्यो । तर अहिले नुन ५ केजी मात्र मिल्दा सास्ती भएको छ।’
स्थानीय तहमै नुन वितरण भएको भए यति सास्ती नहुने उनको भनाइ छ। उनले मान्म पुगेर घर फर्कंदासम्म १६ सय खर्च गरिन् ५० रुपैयाँको नुन पाउँदा निकै दुःख लागेको सुनाए।
शुक्रबार नुन लिन मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुगेका उनले भने, ‘केही पैसा बचदत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो। ५ केजी नुन लिएर कसरी घर र्फकनु ? उनले आफैलाई प्रश्न गरे।’
उनी मात्र हैन, कालिकोटका धेरै नागरिकको गुनासो यस्तै छ। पलाँता गाउँपालिकाकी सुशीला बमले २ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम मान्म आवतजावत गर्दा गाडी भाडा र खान खर्च ३ हजारभन्दा बढी हुने गरेको दुखेसो पोख्छिन्। सिंहदरबारको अधिकार गाउँगाउँ आयो भनेर प्रचार गरिएको छ, तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन्।
‘५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु ?’, नुन अभावको गुनासो गर्दै शुभकालिका ७ की यशोदा शाही भन्छिन्, ‘नुन लिन आउँदा १५÷१६ सय रुपैयाँ खर्च हुन्छ, ५ केजी नुन पाइयो घरमा गाई, गोरु, भेडा, बाख्रा, भैँसी छन। आफू खानेकी पशु चौपायालाई खुवाउने ? ५ पोका नुन लिनका लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैयाँ तिरियो, दुःख बढी नुन कम पाइयो।’
कालिकोटका शुभकालिका, तिलागुफा, महावै, पचालझरना, पलाँता, नरहरिनाथ, सान्नीत्रिवेणीका नागरिकलाई सधैं नुनको दुःख छ । चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ। गाउँका व्यापारीले गाउँमा पु¥याएको ढिके नुन महँगो भएपछि आयोडिन नुन लिन मान्म पुग्ने गरेको उनीहरुको भनाइ छ ।
जिल्लाभरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ, जसमध्ये रास्कोट नगरपालिकाका लागि १२ सय क्विन्टल नुन आउने गरेको छ । अहिले रास्कोट नगरपालिकाले मात्र नगरपालिका बाट नुन दिने गरेको छ।
साल्ट ट्रेडिङका कमचारी लालबहादुर बमले कार्यालयको बचाउ गर्दै ढुवानीको समस्या र पर्याप्त नुनको कोटा नहुँदा समस्या भएको बताए। सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय कालिकोटले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ ।
यो वर्षका लागि ३ हजार ५ सय ४० क्विन्टल नुन खरिदका लागि ठेक्का भएको थियो। हाल १३ सय क्विन्टल नुन गोदाममा रहेको बमले बताए। उनका अनुसार कुनै नागरिकले दोहोराएर आउने अवस्था लाई कम गर्न नागरिकता अनिर्वाय बनाइएको बताए।
नुनकै विषयमा जुम्लाको साल्ट ट्रेडिङमा गत वर्ष तोडफोड भयो। नुन लिन आएका सेवाग्राही र प्रहरीबीच झडप नै भयो। अहिले जुम्लामा वडा बाटै नुनु वितरण सुरु गरीएको छ।
एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो,आन्दोलन र ज्यान दिनुपर्ने अवस्था स्थानीयको छ। जुन नियती भोगिरहेका छन् कर्णालीका नागरिकले व्यथा पुरानै हो। तर, अवस्था उस्तै छ।
५ किलोका लागि २ दिनको यात्रा
कालिकोट पलाँता गाउँपालिका–२ का नन्दाकृष्ण न्यौपाने नुन लिन लामोे बाटो हिँडेरै सदरमुकाम मान्म पुगे। तीन सय रुपैयाँको ३३ किलो नुन लाने उनको सोच थियो। तर, डिपोमा उनलाई ५ किलोका दरले मात्र नुन बाडेको देख्दा निराश हुँदै उनले भने, ‘म दुई दिनको बाटो हिँडेर नुन लिन यहाँ आएँ। मलाई ३३ किलो देऊ न भनें। तर, कर्मचारीले मानेनन्। धेरै अनुरोध गरेपछि बल्ल सय रुपैयाँको ११ पोका दिए। नुन लिएर फर्किएँ’, उनले भने, ‘हामी कस्तो देशका नागरिक हौं। सुनभन्दा बढी नुन पाउन मुस्किल यहाँ। बजारमा सुन पसलहरू प्रसस्तै छन्। तर, नुन पाउने एउटै डिपो छ। त्यहाँ मागेजति नुन पाइँदैन्।’
५ किलोका नुन लिन दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता सरकार न बाटो पुर्याउँछ। जुम्लाको साल्ट ट्रेडिङमा नुनकै विषयमा भएको झडप यस्तै पचालझरना– ८ का धर्मलाल संज्यालले नुन लिन एकदिन पूरै बिताए। ठाउँ–ठाउँमा पहिरो गएको थियो। खोजेका बेला गाडी नपाइने। त्यसैले कर्णाली करिडोरको बाटो पैदलै हिँडेर उनी सदरमुकाम पुगे।
५० किलो लैजाने उनको सोच थियो। तर ५ किलो मात्रै पाए। उनले थप नुन मागे। तर, कर्मचारीले दिन मानेनन्। त्यही ५ किलो नुन बोकेर कर्णाली करिडोरबाट गाडी पर्खेर घर जाँदा उनले हजार रुपैयाँ भाडा तिरे। उनले यसरी दुखेसो पोखे, ‘५ किलो नुन गाई वस्तु र मान्छेलाई गरी २ महिना पुग्दैन। हरेक दुई महिनामा ५ किलो नुन लिन दुई दिन लगाएर, दुई हजार खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता छ।’
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार खाँडाचक्र नगरपालिकाको हकमा मात्र नागरिता लिने गरेको बताए। उनले अहिलेको नुन वितरण तेति व्यवाहारिक नभएको बताउदै प्रत्यक पालिकामा डिपो स्थापनाको लागि प्रदेश कार्यालयमा पत्र पठाएको बताए। उनले कालिकोटमा ७ हजार क्वीन्टल नुनको कोटा भए पनि यो वर्ष ३ हजार कुन्टल मात्र पुगेको उनको भनाइ छ।
कर्णाली प्रदेशको अर्को हिमाली जिल्ला डोल्पामा पनि नुन अभाव छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालय डोल्पाका अनुसर जिल्लामा उपभोक्ताको मागअनुसार नुन ढुवानीका लागि बजेट नहुँदा बर्सेनि अभाव झेल्नुपर्ने जनाएको छ। भौगोलिक रूपमा धेरै विकट रहेको डोल्पामा धेरै टाढाबाट आउने उपभोक्तालाई ५ किलोसम्म नुन दिने गरिएको छ।
नागरिकन्युजबाट