☰ open Loading... 18 May 2024|  

विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीलाई हटाइयो
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार १२:३४

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो।

गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई डिउटीमा खटाइएको छैन। उनले प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताए।

निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए। विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरू दुई दिन यता कालो पटी बाँधेर काम गरिरहेका छन्।

शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत छाया मोक्तानलाई प्रहरीले निर्घात रूपमा कुटपिट गरेका थिए।