☰ open Loading... 25 February 2025|  

छोरी बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी
पश्चिम नेपाल   | १७ माघ २०८०, बुधबार १३:३७

जुम्लामा एकजना बालिकालाई बेपत्ता बनाएको भन्दै वडा सदस्यविरुद्ध उजुरी परेको छ। गत माघ १० गतेदेखि बेपत्ता रहेकी ती बालिकाकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।

बेपत्ता हुनेमा सिंजा गाउँपालिका ६ जोडु गाउँकी १४ वर्षकी रमिशा बुढा हुन्। रमिशाकी आमा बिस्नकली बुढाका अनुसार उनी भेडा चराउन गएको बेलादेखि नै बेपत्ता छिन्।

रमिशालाई गाउँपालिका ५ गोरा गाउँकी महिला वडा सदस्य पाल्ती रावलको समुहले बेपत्ता पारेको बिस्नकलीको आरोप छ। उनी भन्छिन्, ‘आफ्नो वनमा भेडा चराउन किन ल्याएको भन्दै आरोप लगाए।’

तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा विस्नकलीले बताइन्। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छिन्।

एउटा खसीको मूल्य १५ हजार रुपैयाँ पर्ने रमिशाका बाजे अम्रिते रावतले बताए। रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छिन्।

शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेस प्रसाद भट्टले बालिकाकी आमाले दुई जनाको नाममा निवेदन दिएको बताए। मुनुकली रावल र पाल्ती रावलको नाममा पीडितकी आमाले निवेदन दिएको उनले बताए। जिल्लामा रहेको महिला तथा बालबालिका सेललाई खोजतलासका लागि पत्राचार गरेको पनि उनले जानकारी दिए।