मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ।
सोरु गाउँपालिका-६ का पुरुमुरु र जिमा गाउँमा डेढ साता अघिबाट फैलिएको मौसमी रुगाखोकीबाट तीन जनाको मृत्यु भइसकेको र एक सय ५० जना थला परेका थिए।
थला परेका मध्ये १ सय ३५ जनामा उक्त स्थानमा पुगेका डाक्टर सहितको टोलीले चेकजाँच गर्दा भाइरल इन्फ्लुएन्जा लक्षण देखिएको र बिरामी परेका मध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो।
जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जना मध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो। त्यस्ता खाले बिरामीहरू मध्ये ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।
इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पताल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
रुघाखोकीका कारण सोरुगाउँपालिका-६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीय कृती छत्याल र २४ वर्षीय कुसुम ढोलीको मृत्यु भएको थियो।