☰ open Loading... 19 September 2024|  

कर्णालीका नेताहरुसँग ओलीले भने : प्रदेश अध्यक्षको हैसियत अब पोलिटब्यूरो हुँदैन
पश्चिम नेपाल   | १९ माघ २०८०, शुक्रबार ०५:२५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग बिहीबार छलफल गरेका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा प्रदेश इन्चार्ज एवं पार्टी सचिव लेखराज भट्टलाई समेत बोलाएर अध्यक्ष ओलीले सम्वाद गरेका छन् । ‘पार्टी कसरी बलियो र एकताबद्ध बनाउने भनेर छलफल सुरु भएको हो । आज समय पुगेन, भोलि थप कुरा हुन्छ’, प्रदेश अध्यक्ष गुलाबजंग शाहले भने ।

उनका अनुसार बिहीबार पार्टी अध्यक्ष ओली, प्रदेश इन्चार्ज भट्ट र स्थायी कमिटी सदस्य यमलाल कँडेलले आफ्नो कुरा राखे । तर अध्यक्ष ओलीले अर्को कार्यक्रममा जानुपर्ने भन्दै भोलि लामै सम्वाद गर्नेगरी आजको छलफल अन्त्य गरे ।

कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २३ जनाकै कुरा सुनेर त्यहाँ देखिएको समस्या हल गर्नेगरी शुक्रबार छलफल हुने ओलीले बताएका छन् । तर बिहीबार संक्षेपमै भएपनि अध्यक्ष ओलीले केही निर्देशनात्मक कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार, अध्यक्ष ओलीले कर्णालीमा प्रदेश अधिवेशनकै समयदेखि समस्या देखिन थालेको बताएका छन् । ‘पोलिटब्यूरो सदस्यले तल (प्रदेश अध्यक्ष बन्नेगरी) झर्नु हुँदैन भनेको थिएँ’, ओलीले नेताहरुसँग भने, ‘लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठले भेट्न आएर हामीमध्ये एक जनाले नेतृत्व गर्छौ भन्दा मैले हुन्न भनेको हो ।’

तर आफ्नो निर्देशन विपरीत त्यहाँ निर्णय लिइएको ओलीले बताए । ‘केपी ओलीलाई देखाइदिने भनेर लाग्नुभयो । तर साथीहरुले बिर्सनुभएन म पार्टीको अध्यक्ष हो । संसदीयको दलको नेता हो, संवैधानिक परिषदको सदस्य’, अध्यक्ष ओलीले छलफलमा भनेका थिए ।