☰ open Loading... 8 April 2025|  

चिसोले कर्णालीमा जनजीवन प्रभावित
पश्चिम नेपाल   | २२ माघ २०८०, सोमबार ०५:१८

हिउँदको अन्त्यतिर आएको वर्षा र हिउँले कर्णालीमा जनजीवन प्रभावित बनाएको छ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा प्राय स्थानहरूमा भएको हिमपातले स्थानीयहरु घरभित्रै बसेका छन्। चिसोले जीवन कष्टकर भइरहेको छ।

हिउँ पर्नुअघि नै स्थानीयहरुले बस्तुभाउको लागि घाँसपात आफ्नो लागि अन्न, दाउरा जोहो गरिसकेका हुन्छन्। पानीको स्रोत टाढा हुँदा हिउँ पगालेर खाने गर्दछन्।

हिउँले सिमकोटसहित हुम्लाका प्राय बस्तीहरु दुई हप्तासम्म प्रभावित हुने हुम्लाका समाजसेवी विजय लामाले बताए। मुगु, हुम्ला र डोल्पामा उच्च हिमाली भेकका स्थानीयहरु घरमा ताला लगाएर बेसी झर्ने गर्दछन्। त्यहाँका प्राय प्रहरी चौकीहरु समेत जिल्लामा सरेका छन्।

हिउँ परेसँगै मुगुमा पनि चिसो निकै बढेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले बताए। तराईमा घाम नदेखिने गरी लागेको हुस्सु हटेको भएपनि वर्षातले चिसो फेरी ह्वातै बढाएको छ।