☰ open Loading... 25 November 2024|  

सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ
पश्चिम नेपाल   | २३ माघ २०८०, मंगलवार १५:४८

मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा थप एक जना पक्राउ परेका छन्। कास्की प्रहरीले विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीमाथि पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीसँग नजिकिएर २१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ।

उनले फर्जी बचतकर्ता भएर लाखौं रुपैयाँ ऋण लिने र मिटरब्याजमा सहकारीलाई रकम दिने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोजन पत्रमा उल्लेख छ। त्यसबाहेक उनले २१ लाख रुपैयाँ सहकारीको पैसा लगे पनि फिर्ता गरेको नपाइएको अभियोजनमा उल्लेख छ।

भण्डारीलाई पोखरा महानगरपालिका–५, मालेपाटनस्थित कुलाकोडिल डेराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। उनलाई सोमबार राती पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। भण्डारीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थपेर अनुसन्धान प्रक्रिया जारी राख्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

भण्डारी पक्राउ परेसँगै मित्रमिलन सहकारीको ठगीको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सहकारी ठगीको आरोपमा प्रहरीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार तथा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल, सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, शेयर सदस्य बुद्धिसागर पौडेललाई यसअघि नै पक्राउ गरेर मुद्दा चलाइसकिएको छ। बाँकी हालसम्म पनि फरार नै छन्।

उनीहरु सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको छ। सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य अर्जुन गिरीलगायत भने फरार रहेका छन्।

सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ अपचलन भएपनि ७१४ जनाले मात्र उजुरी दिएका छन्।

जस अनुसार सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।