☰ open Loading... 24 February 2025|  

लघुवित्तका कर्मचारीलाई मोसो , मोसो दल्ने पक्राउ
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार ११:५०

लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन्।

बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख दिपेन्द्र कट्टेललाई वैद्यका कार्यकर्ताले मोसो दलेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का २० वर्षीय विष्णुहरि घर्ती र मुगुको सोरु गाउँपालिका–८ का रामबहादुर विक पक्राउ परेका हुन्।

‘डिप्रोक्स लघुवित्तका शाखा प्रबन्धकलाई मोसो दलेर भाग्दै गरेका दुई जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्,’ डिएसपी शाहीले भने, ‘दुवै जना वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ता भएको बुझिएको छ।’

लघुवित्तका कर्मचारीका अनुसार मोसो दल्न तीन जना आएका थिए। ‘दिउँसो साढे दुई बजेतिर आएका तीन जनाको समूहमा आएका अज्ञात लुटेरा समूहहरूद्वारा केही कुरा सोधपुछ गर्नु छ भनी कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए,’ लघुवित्तले प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘शाखा प्रमुख बाहिर निस्कने क्रममा केही उपहार दिनु छ भनी एसिड र अलकत्रा निकालेर अनुहार तथा शरीरमा लगाएकाले निजहरुलाई कारबाही गरिपाऊँ।’

उजुरीमा एसिड प्रहार गरेर ज्यान मार्ने किसिमले शाखा प्रबन्धकमाथि आक्रमण भएको उल्लेख छ।