☰ open Loading... 7 September 2024|  

टीकापुरमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार ११:५८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुर सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको आरोप छ।

कैलालीको टीकापुर बजार एरियाभित्र करिब ३० बिघा सरकारी जग्गा नक्कली कागज बनाएरपछि अख्तियारले छानबिन गरेको थियो। जग्गा व्यक्ति विशेष तथा सङ्घ/संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्नेमा समितिका पदाधिकारी तथा कर्मचारीसमेतको संलग्नतामा जग्गा हक हस्तान्तरण गरेको अख्तियारको दाबी छ।

समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत सुक्रिबिक्री हुँदै हाल कायम जग्गाधनीहरूको हकमा बिगोसहितको सजाय माग दाबी लिई आरोप पत्र दर्ता गरिएको हो।

विभिन्न दलका नेता, कार्यकर्ता, आफन्तको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएपछि अख्तियारले छानबिन थालेको थियो। समितिमा विभिन्न राजनीतिक दलका नेताको संलग्नता रहेको बताइएको छ।

‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको’ अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ।