हुम्ला : हुम्लाका तीन गाउँपालिकाले गृह मन्त्रालयको सूचनामाथि वेवास्ता गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका छन् ।गृह मन्त्रालयले माघ २९ गते प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सम्मानित अदालतको फैसलाको आधारमा नेपाल सरकार मन्त्रीपरिषद्को माघ २५ गते बसेको बैठकको निर्णयअनुसार नेपाल राजपत्र खण्ड ७२ संख्या ६५ भाग ५ मिति २०७९ चैत २ गते प्रकाशित संवत २०८० फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नहुने र बिदा नगर्ने ।’
जिल्लाका सात वटा गाउँपालिका मध्ये सदरमुकामको सिमकोट गाउँपालिका, दक्षिण क्षेत्रको ताजाकोट र चंखेली गाउँपालिकाले गर्ने सम्पूर्ण सेवा बन्द गरी मंगलबार फागुन १ गते सार्वजनिक बिदा दिने सूचना प्रकाशन गरेको छ ।
सिमकोट गाउँपालिका कावा गाउँपालिका अध्यक्ष नन्द रावतले माघ २८ गते प्रकाशन गरिएको सूचनामा सिमकोट गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बन्द हुने भनिएको छ । त्यस्तै माघ २९ गते ताजाकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङु र चंखेली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मजित थापाले सूचना प्रकाशन गर्दै जनयुद्धको दिवसमा गाउँपालिकाबाट प्रदान हुने सेवा बन्द गरि फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका अन्य चार वटा गाउँपालिकाले कामको चाप र सेवाग्राहीको भिड हुने भएकाले बिदा भन्दा सेवा दिनु उचित भएकाले नाम्खा, खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकाले सो दिनमा पनि कार्यालय पूर्ण रुपमा सञ्चालन गर्ने भएका छन् । एक दिन कार्यालय बन्द हुँदा सेवाग्राहीलाई भने मर्का पर्ने भएको छ । एक सेवाग्राहीले जिल्लाका अरु गाउँपालिकाले बिदा नदिने तर तीन गाउँपालिकाले मात्र बिदा दिनुको कारण पावर, पहुँचको आधारमा बिदा दिइएको बताए ।