☰ open Loading... 4 June 2025|  

एघार वर्षपछि नक्कली डाक्टरसहित तीन पक्राउ
पश्चिम नेपाल   | १ फाल्गुन २०८०, मंगलवार ११:००

जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।

विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो।

नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई ‘डाक्टर हुँ’ भन्दै पोलिक्लिनिकमा भर्ना गराएका राईको दुई वटा सुई लगाएपछि मृत्यु भएको थियो। सुई लगाएको  पाँच मिनेटको अन्तरालमा बिरामीको मृत्यु भएको भन्दै मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई माघ–२४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनु कार्कीले सोमबार विज्ञप्तिमार्फत जानकारी दिए। छानबिनका क्रममा उपचारमा सङ्लग्न कथित डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनीकमा काम गरेको वास्तविकता सार्वजनिक भएको थियो।

प्रहरीले सोही पोलिक्लिनिक सम्बद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ।