☰ open Loading... 25 November 2024|  

तिन वर्षयता कर्णालीमा लागुऔषधका ३ सय ४३ मुद्दा दर्ता हुँदा ६ सय ७ जना पक्राउ
पश्चिम नेपाल   | १ फाल्गुन २०८०, मंगलवार १३:४८

पछिल्लो वर्षहरुमा कर्णाली प्रदेशभर लागुऔषधको जालो पुगेको पाईएको छ । लागूऔषधका कारोवारीहरु बढेसंगै प्रदेशभर प्रयोगकर्ताहरु बढेको पाईएको हो । वर्षेनी कारोवारी बढेसंगै लागुऔषधका मुद्दा दर्ताको संख्याहरु पनि बढ्दो अवस्थामा रहेको छ । तिन वर्षयता कर्णालीमा ३ सय ३४ लागुऔषध सम्वन्धी मुद्दा दर्ता भएको छ भने ६ सय ७ जनालाई पक्राउ गरिएको जनाईएको हो
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका हिमाली जिल्ला जुम्ला र मुगुमा समेत लागूऔषधको कारोवारीहरु बढ्दो अवस्थामा रहेका छन् । प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोवारी भेटिने गरेको पाईएको हो । हुम्लाबाहेक कर्णालीका सवै जिल्लामा लागूऔषध कारोवार हुने गरेको प्रहरी रेर्कडमा देखिएको छ । गाउँगाउँमा समुदाय, विद्यालय, कलेजमा लागूऔषध न्यूनीकरणका लागि लालटिन समुह बनाएर अभियान पुगेको छ । तत्कालिन प्रहरी प्रदेश प्रमुख भिम प्रसाद ढकालको कार्यकालमा लागूऔषध न्यूनिकरणमा विशेष अप्रेशन गरिएको थियो । जसका कारण अहिलेसम्मकै धेरै संख्यामा मुद्दा दर्ता भएको हो । प्रदेशभर प्रहरीमार्फत सचेतना कार्यक्रम समेत उत्तिकै भएको छ ।
प्रहरीले कर्णालीमा आर्थिक वर्ष ०७७÷०७८ मा ७० वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो । जसमा ब्राउन सुगर ८४ ग्राम ५ सय २७ मिलिग्राम, चरेश ३६ किलो ८४ ग्राम, अफिम ४० किलो ७ सय ग्राम र ट्याब्लेट १५ सय ८१ बरामद गरी १ सय ३६ जना पक्राउ गरेको जनाईएको छ । नयाँ सरुवा भएर आएका कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लाल मणि आचार्यले लागूऔषध न्यूनिकरणका लागि प्रहरीहरु विशेष रुपमा परिचालन गरिने बताए ।
त्यस्तैे आर्थिक वर्ष ०७८÷०८९ मा कर्णाली प्रदेशभर ९५ वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो । जसमा ब्राउन सुगर १ सय १० ग्राम, २ सय २० मिलिग्राम, चरेश १ केजी ७ सय ९३ ग्राम ६ सय २० मिलिग्राम, अफिम १ केजी ८ सय ग्राम ५ मिलिग्राम, ट्याव्लेट १८ सय ७५ र ६ सय एम.एल. कोरेक्स बरामद भएको थियो । प्रहरीले कारोवारी, प्रयोगकर्तासहित १ सय ७२ जनालाई आवश्यक कार्वाहीका लागि पक्राउ गरेको थियो । तिन वर्षयता सवैभन्दा बढी मुद्दा दर्ता आर्थिक वर्ष ०७९÷०८० मा १ सय १४ वटा भयो । जसमा २ सय १४ जनालाई पक्राउ गरी प्रहरीले कार्बाही गरेको छ । तत्कालिन कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम प्रसाद ढकालले लागुऔषधसम्वन्धी नियन्त्रणका लागि विशेष टोली बनाएर तिव्र गतिमा काम गरेका कारण कर्णालीमै धेरै कारोवारी र प्रयोगकर्ता समातिएका थिए । जसमा ब्राउन सुगर २ सय ५ ग्राम २ सय ७२ मिलिग्राम, चरेश १ सय ६३ ग्राम ९ सय ७७ मिलिग्राम, गाँजा ६ सय ८७ ग्राम ८२ मिलिग्राम, ट्याव्लेट २ सय ७१ र १७ सिसि झोल औषधी बरामद भएको थियो ।
आर्थिक वर्ष०८००८१ को हालसम्म ५५ वटा लागुऔषधसम्वन्धी मुद्दा दर्ता भएकोमा ८५ जना पक्राउ गरेको छ । ब्राउन सुगर ८० ग्राम ३ सय ९० मिलिग्राम, चरेश ८४ ग्राम ९ सय ४८ मिलिग्राम, गाँजा ८ सय ९ ग्राम ३ सय ६० मिलिग्राम, अफिम ९ सय ४० मिलिग्राम र ट्याव्लेट ३० वटा बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार सवैभन्दा बढी सुर्खेतमा कारोवारी र प्रयोगकर्ता पक्राउ गरेका छन् भने हिमाली जिल्ला मुगु र जुम्लामा समेत लागुऔषध प्रयोगकर्ताहरु फैलिसकेको तथ्याकले देखाएको छ । प्रहरीले हुम्लामा अहिलेसम्म लागुऔषध कारोवारी र प्रयोगकर्ता भेटिएका छैनन् । त्यस्तै कर्णालीका विभिन्न जिल्लामा २९ रोपनी जग्गामा गाँजा र ४ सय ७६ रोपनीमा लगाईएको अफिम नष्ट गरेको छ । समुदायसंग मिलेर प्रहरीले लागूऔषध न्युनिकरणका लागि विशेष रुपमा खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) वीरबहादुर ओलीले बताए ।