अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ?
तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ ।
बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु
लेबनानी कवि तथा लेखक खलिल जिब्रानको एउटा प्रख्यात भनाइ छ, ‘सन्तान तपाईंको माध्यमबाट संसारमा आउँछन्, तर तिनीहरु तपाईंका होइनन्, संसारका सन्तान हुन् । त्यसैले अभिभावकले सन्तानलाई माया गर्नुपर्छ तर माया गर्नुको पनि सीमा हुनुपर्छ ।’
जस्तै- बच्चा हिंड्न नसक्ने, आफैं खान नसक्ने भएसम्म अभिभावकले गर्नुपर्छ । तर बच्चा सक्षम भइरहेपछि पनि आफ्नो बच्चा भनेर जहिले काखमा लिइराख्ने, आफैंले खाना खुवाउने, लुगा लगाइदिने, हरेक समय बच्चासँगै बस्ने गर्नुहुँदैन । किनभने अभिभावकको नजरमा त्यो माया हुनसक्छ तर बच्चालाई अभिभावक देखेर रिस उठ्न सक्छ । बच्चाको नजरमा यस्ता अभिभावक खलनायक हुन्छन् ।
त्यसैले बच्चाले आफ्नो हेरचाह गर्न सक्षम भएपछि उसलाई साथीहरुसँग घुलमिल हुन दिनुपर्छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ ।
बाहिरको रिस बालबालिकामा पोख्ने बानी
कोही अभिभावक बच्चालाई आवश्यकताभन्दा धेरै माया गर्ने गर्छन् भने कोही अभिभावक बाहिर अरुको रिस घरमा आएर बच्चामा पोख्ने गर्छन् । यस्तो व्यवहार गर्ने अभिभावकप्रति बच्चाको मनमा मान सम्मानको सट्टा डर, घृणा र रिस उत्पन्न हुन्छ । उनीहरु असुरक्षित महसुस गर्छन् । यस्ता नकारात्मक सोचले बच्चा र अभिभावकको सम्बन्ध बिग्रिंदै जानुका साथै उनीहरुको वृद्धि विकासमा पनि नकारात्मक असर पर्छ । घरमा यस्तो व्यवहार देखाउने अभिभावकलाई नराम्रो मान्छन् ।
बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा
संसारका हरेक प्राणीको आधारभूत लक्ष्य बच्चालाई जतिसक्दो चाँडो आत्मनिर्भर बनाउने हो, तर भावनाका कारण मानिसले ढिलाइ गर्छन् । कोही अभिभावक आफ्ना बच्चालाई लामो समयसम्म नियन्त्रणमा राख्न खोज्छन् । यसले बच्चा स-साना कुरामा अभिभावकप्रति निर्भर हुन्छ । जस्तै- के खाने, के नखाने, कसलाई साथी बनाउने ? यी कुरामा अभिभावकले भन्दा पनि बच्चाहरु आफैंलाई निर्णय लिन प्रोत्साहन गर्नुपर्छ ।
बरु उसको कुरा राम्रोसँग सुन्ने र केही प्रश्न गरेको अवस्थामा सुझाव दिने गर्नुपर्छ । यसो गर्नाले उनीहरुको आत्मविश्वास बढ्दै जाने र निर्णय लिने क्षमताको विकास हुँदै जान्छ ।
अन्य बच्चासँग तुलना गर्ने बानी
एकअर्कासँग तुलना गर्नु मानवीय स्वभाव हो । धेरैजसो हामी अरुको तुलना गरेर नै अगाडि बढ्न प्रेरणा लिइरहेका हुन्छौं । तर कहिलेकाहीं हरेक समय तुलना गर्ने बानीले बच्चाको दिमागमा नकारात्मक सोच उत्पन्न हुनसक्छ । वास्तवमा, आफ्नो बच्चालाई अन्य बच्चासँग तुलना गरेर उसलाई अनावश्यक अप्रत्यक्ष दबाब दिने गरेको देखिन्छ । उसलाई अरु जस्तै बन्न अप्रत्यक्ष दबाब दिंदा बच्चाले आफूलाई अरुभन्दा कम ठान्न थाल्छ । भविष्यमा आफ्नो करिअरमा असफल भएमा त्यसको दोष अभिभावकलाई दिन सक्छन् ।
बच्चासँग कम बोल्ने बानी
अभिभावकहरु बच्चालाई चाहिने सबैथोक भन्नेबित्तिकै ल्याइदिएकै छ, अरु के चाहियो र भन्ने सोच्छन् । चाहेको सामान किनिदिन्छन् तर उनीहरुसँग कुरा गर्ने, उसको स्कुलमा के भइरहेको छ ? उसको रुचि केमा छ ? के मन पर्छ वा के मन पर्दैन ? भनेर बुझ्न वा जान्न कोसिस गर्दैनन् । जुन एकदम गलत बानी हो । त्यसैले भनेको चीज सामान पुर्याएको छ भन्दैमा राम्रो अभिभावक हुँदैनन् ।
बच्चाको अगाडि बसेर फोन चलाउने बानी
अभिभावकहरु बच्चालाई स्कुलबाट आउनेबित्तिकै होमवर्क गर, पढ बस् भन्छन् । तर अभिभावक भने उनीहरुकै अगाडि बसेर मज्जाले मोबाइलमा रिल हेर्ने, टिकटकमा भिडियो हेरेर बस्ने वा भिडियो बनाएर बस्ने गर्छन् । यसले बच्चाहरुले आफ्नो अस्तित्व नै नभएको महसुस गर्ने गर्छन् । अभिभावकप्रति आदर र मानसम्मान गर्दैनन् । त्यसैले अभिभावक आफैं रोल मोडल हुनका लागि बच्चालाई होमवर्क वा पढ्न बस्ने बेला आफूले मोबाइल नचलाइकन उनीसँग समय बिताउनुपर्छ ।
एजेन्सीको सहयोगमा